+
+

न्याम्स डेढ महिनादेखि पदाधिकारीविहीन, को को छन् आकांक्षी ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १८:१३

१९ वैशाख, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डेढ महिनादेखि उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन लगायतका पदहरु रिक्त छन् ।

चिकित्सा शास्त्रको विभिन्न विषयको पढाइ हुने यो सरकारी प्रतिष्ठानमा गत ३० फागुनमा रिक्त भएका ती पदमा सरकारले नियुक्ति गर्न सकेको छैन भने निमित्तको जिम्मेवारी पनि कसैलाई दिएको छैन ।

कानुन अनुसार उक्त पदका लागि योग्यता पुगेका र राजनीतिक दलसँग निकट रहेका चिकित्सकहरु अहिले ती पदमा आफ्नो नियुक्तिका लागि शक्ति केन्द्रतिर दौडधुपमा छन् ।

लामो समय प्रमुख पदाधिकारी नहुँदा प्रतिष्ठानमको शैक्षिक गतिविधिमा असर परिरहेको छ ।

उपकुलपतिमा को–को आकांक्षी ?

स्रोतका अनुसार प्रतिष्ठानका पदहरुमा वीर अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सकहरू आकांक्षी छन् । जसमध्ये एक हुन् कार्डियोथोरासिक सर्जन डा. दिपक थापा । नेकपा माओवादी निकट डा.थापा न्याम्सका एसोसिएट प्रोफेसर हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिव डा. गुणराज लोहनी पनि उपकुलपतिको दौडमा छन् । माओवादी निकट लोहनीले गत २ कात्तिकमा उमेर हदका कारण मन्त्रालयबाट अवकाश पाएका थिए ।

त्यसैगरी प्रतिष्ठानको उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत पनि आकांक्षी छन् । दुई पटक वीर अस्पतालको निर्देशकको जिम्मेवारी पाइसकेका उनी नेपाली कांग्रेस निकट हुन् ।

एमाले निकट चिकित्सक प्रा. डा. पियुष दाहाल उपकुलपतिको आकांक्षी छन् । डा. दाहाल न्याम्सको पूर्व डीन हुन् । त्यसैगरी वरिष्ठ ग्यास्ट्रोइन्टेस्टाइन सर्जन डा. सुबोध अधिकारी पनि उपकुलपतिको दौडमा छन् । कांग्रेस निकट उनी प्रतिष्ठानका पूर्व रेक्टर हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार न्याम्सको उपकुलपतिका लागि डा. बस्नेत र डा. लोहनीबीच प्रतिस्पर्धा छ । यद्यपि डा. लोहनीको चर्चा बीमा बोर्डको अध्यक्षमा पनि छ ।

न्याम्सका वरिष्ठ चिकित्सकहरुले भने न्याम्सभन्दा बाहिरका र अवकाश प्राप्त कर्मचारीलाई उपकुलपतिमा ल्याए प्रतिवादमा उत्रने चेतावनी दिँदै आएका छन् । ‘यस्तो प्राज्ञिक संस्थामा प्राध्यापनसँग सम्बन्धित नै व्यक्ति ल्याउनुपर्छ । प्राध्यापक भन्दा कम योग्यता र फरक व्यक्ति उपकुलपति ल्याउँदा समग्र प्राध्यापक र प्राज्ञिक संस्थाकै अपमान गर्नु हो’, न्याम्समा कार्यरत एक चिकित्सक भन्छन् ।

ती चिकित्सकका अनुसार सरकारले निमित्त उपकुलपतिको कार्यभार समेत तोक्न नसक्दा शैक्षिक गतिविधिमा समेत असर परेको छ ।

उपकुलपतिका लागि के छ योग्यता ?

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १८ (२) अनुसार उपकुलपति सिफारिस गर्न कुलपतिले सहकुलपतिको अध्यक्षतामा अन्य दुईजना सदस्य रहेको एक समिति गठन गर्नुपर्ने व्यवस्था छ । समितिको सिफारिसमा कुलपतिले उपकुलपतिको नियुक्ति गर्ने व्यवस्था ऐनमा छ ।

न्याम्सको कुलपति प्रधानमन्त्री र सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री रहने व्यवस्था छ । तर हाल स्वास्थ्य मन्त्रालय पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हालिरहेका छन् । त्यसैले नयाँ स्वास्थ्यमन्त्री नियुक्त नहुँदासम्म न्याम्सको उपकुलपति नियुक्ति हुने छैन ।

न्याम्सको उपकुलपति, रजिष्टार, रेक्टर पदमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीबीच छलफल भएर भागबण्डा हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

उपकुलपतिको पदावधि ४ वर्षको हुनेछ । न्याम्सको उपकुलपति पदका लागि स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ बमोजिम योग्यताप्राप्त व्यक्ति हुनुपर्ने पनि व्यवस्था छ ।

न्याम्सको उपकुलपति पदका लागि योग्यतासम्बन्धी तीनवटा मुख्य मापदण्डको व्यवस्था छ । त्यसमा पहिलो नेपाल चिकित्सक परिषदमा दर्ता भई नेपाल सरकारको १२ औं तहको चिकित्सक वा सोभन्दा माथिल्लो तहमा बहालवाला वा अवकाशप्राप्त चिकित्सक हुनुपर्ने उल्लेख छ ।

त्यसैगरी, स्वास्थ्य प्रतिष्ठानको प्राध्यापक वा अवकाशप्राप्त प्राध्यापक हुनुपर्ने र स्वास्थ्य संस्था वा मेडिकल कलेजमा कार्यकारी तहको जिम्मेवारी वहन गरेको वा गरिसकेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?