+
+

वैशाखमा हिमपात, के अस्वाभाविक हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १०:५४
ताप्लेजुङमा मंगलबार परेको हिउ । तस्वीर : रासस ।

२० वैशाख, काठमाडौं । केही दिनयता देशभर पानी परिरहेको बेला हिमपात पनि भएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मकै उच्च भागमा हिमपात भएका समाचारहरु सार्वजनिक भएका छन् । भारतमा समेत हिमपात भएपछि केदारनाथ यात्रामा रोक लगाइएको छ ।

वैशाख महिना असिना-पानी पर्ने समय हो । यो समयमा हिमपात भएको समाचार अनौठो पनि लाग्नसक्छ । तर नेपालमा अहिलेको मौसमी प्रणालीलाई हेर्दा अस्वाभाविक मान्न नसकिने मौसमविद बताउँछन् ।

वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार नेपालमा हिम रेखा (४५०० मिटरभन्दा माथि) जहिले पनि, जुनसुकै समयमा पनि हिमपात भइरहन्छ । यस्ता स्थानमा वर्षाको प्रकार नै हिमपात हुन्छ । तर त्यसभन्दा तल्ला भेगमा पनि हिमपात हुँदा मौसमी प्रणाली नै विकसित हुनुपर्छ । सामान्यतया स्थानीय वायुको मात्र प्रभाव हुँदाखेरी हिमपातको सम्भावना कम हुन्छ ।

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । यसको प्रभाव लामो समयसम्म रहँदा पानी परेको र उच्च भागमा हिमपात भएको मौसमविद कँडेलले बताइन् । ‘नेपालमा अहिलेको केसमा कुरा गर्ने हो भने पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव छ । यो प्रणालीको प्रभाव लामो समय रहेको अवस्था छ । त्यसैले केही दिनदेखि वर्षा हिमपात भइरहेको छ । यो पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव हुँदाखेरी कहिलेकाहिँ हिमपात हुन सक्छ । यो अस्वाभाविक कुरा होइन ।’

मौसममा क्रमिक सुधार

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्लो दिनको तुलनामा मौसम क्रमशः सफा हुँदै गएको छ । तर आज पनि बदली भने हुने पूर्वानुमान छ ।

दाङदेखि पूर्व र विराटनगरदेखि पश्चिम क्षेत्रमा केही स्थानमा घाम लागेको मौसमविद कँडेलले जानकारी दिइन् । अघिल्ला दिनहरुमा जस्तो ठूलो पानी पर्ने सम्भावना भने अहिले नरहेको उनले बताइन् ।

आज सुदूरपश्चिम प्रदेश र कणर्ाली प्रदेश लगायत पहाडी भागमा सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । देशका पहाडी भागका केही स्थानहरु तथा बाँकी भागमा एक-दुई स्थानमा भने मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि पहाडी भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?