
२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढावा दिने खालको नीति तथा कार्यक्रम बनाउन राष्ट्रिय योजना आयोगसँग आग्रह गरेका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा बुधबार भएको भेटवार्तामा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनु पर्नेमा जोड दिए ।
अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको मुख्यमन्त्री चौधरीले बताए । ‘कोरियाबाट आउने छ्याङ हामी किन्छौं, अनि यहाँ थारुको घरम बनेको चाहिँ घोप्ट्याउनु पर्ने स्थिति छ’ मख्यमन्त्री चौधरीले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरु बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’
मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए ।
जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै आजको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलाई जोड दिनु पर्ने उनले बताए । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिएर अर्थतन्त्रलाई बलियो बनाउनु पर्ने उनको भनाइ छ ।
रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरुलाई जोड दिनुपर्छ भन्ने सधैं आफ्नो मान्यता रहेको उनले बताए । उपाध्यक्ष डा. श्रेष्ठले भइरहेको भन्दा पनि केही नयाँ गर्नुपर्छ भन्ने सोचमा आफूहरु रहेको भन्दै उत्पादन र रोजगारीका लागि केही गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4