
२० वैशाख, काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा नयाँ सचिव ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले तोयाम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ ।
पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । ३ वर्षअघि सचिव भएका पोखरेल २०५१ सालमा हुलाक अधिकृतका रुपमा सरकारी सेवमा प्रवेश गरेका थिए । २०६१ सालमा उपसचिव भएका पोखेरल २०६७ सालमा सहसचिव बनेका थिए । उनी आकर्षक विभाग र कार्यालयहरुमा पुग्ने सरकारी अधिकारीका रुपमा परिचित छन् ।
अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायमा बसेर उनले कार्य अनुभव हासिल गरिसकेका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवका रुपमा समेत काम गरेका छन् ।
आगामी १५ जेठमा संसदमा पेश हुने बजेट निर्माणको नेतृत्व अब अर्थ सचिवका रुपमा पोखरेलले गर्नेछन् । अर्थ मन्त्रालयका अधिकारीहरु भने बजेटको मुखमै अर्थसचिव फेरिंदा बजेट निर्माणमा प्रभाव पर्ने बताउँछन् । ‘नयाँ सचिव ल्याउने भए अलि अघि नै निर्णय गरेको भए हुन्थ्यो,’ मन्त्रालयका एक सहसचिवले भने, ‘यस्तो चापको बेलामा सचिवज्यूलाई आगामी वर्षको बजेट निर्माणको मार्गदर्शन बुझाउनै समय र मिहिनेत लाग्ने भयो ।’ यसअघि अर्थ मन्त्रालयको प्रवक्ता समेत भइसकेका पोखरेलको निर्णय क्षमतामाथि भने मन्त्रालयभित्रै संशय छ ।
अरू क-कसको भयो सरूवा ?
अर्थसचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै राष्ट्रपति कार्यालयमा रहेका सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । उनको ठाँउमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा सरुवा भएका छन् ।
प्रधानमन्त्री कार्यालयमा रहेका सुमन अर्याललाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेसँगै निलम्बनमा छन् । उनलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखिएको हो । प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखिएका सचिव बैकुण्ठ अर्याललाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया 4