
२० वैशाख, पोखरा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको परिचय नै बागी बनेको छ । सार्वजनिक मञ्च र संसदबाट उनी सरकारमाथि कडा प्रश्न उठाउँछन् भने पार्टीभित्र नेतृत्वमाथि खनिन्छन् । उनै धनराज गुरुङ बुधबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भए ।
पहिलो र दोस्रो संविधान सभाका समानुपातिक सांसद बनेका गुरुङले सार्वजनिक लेखा समितिमा रहेर पनि भ्रस्टाचारविरुद्ध खरो उत्रिए । २०५५ सालमा तरूण दलकाे महामन्त्री हुँदा ‘रातो पासपोर्ट’ दुरुपयोग गर्नेसँग नाम जोडिएपछि विपक्षीबाट आलोचनाको केन्द्र बनेका थिए । संसद र बाहिरबाट प्रश्न गर्ने ठाउँबाट स्याङ्जाका गुरुङ जवाफ दिने ठाउँमा आइपुगेका छन् ।
जमिनसँगभन्दा केन्द्रका नेताहरुसँगको उठबसले केन्द्रीय नेता बनेको आरोप खेपेका धनराज गुरुङले ४ मंसिरको प्रतिनिधिसभा चुनाव भने स्याङ्जा–२ बाट प्रत्यक्ष चुनाव जिते । एमाले सचिव पद्मा अर्याललाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित धनराजले १४ औं महाधिवेशनमा उपसभापति जितेकाले कांग्रेसमा संस्थापन इतरमा ठूलो छलाङ मारिसकेका थिए ।
कुटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग प्रकरणमा नाम जोडिएर केही आलोचना भए पनि धनराज अरु आरोपसँग भने जोडिएनन् । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा संस्थापन समूहबाट राजनीति थालेका गुरुङ स्पष्ट वक्ता र नेतृत्वसँग धक फुकाएर बोल्न सक्ने नेता हुन् ।
स्याङ्जामा गोपालमान श्रेष्ठको रजगज हुँदा आफू पछि परेको ठान्ने देउवा इतर समूहको प्रतिनिधित्व उनै धनराजले गरेका छन् । गण्डकीमा टिकट वितरणमा समेत उनले जोडबल गर्ने गरेका थिए ।
५७ वर्षीय गुुरुङ स्याङ्जा-१ का स्थायी बासिन्दा हुन् । आफ्नो गृह क्षेत्रमा पकड कमजोर रहेकाले उनले क्षेत्र नम्बर २ रोजेको कांग्रेसीजनकै आरोप थियो । गुरुङ पक्षका नेता–कार्यकर्ताले उनलाई यसपटक प्रदेश सभामा उम्मेदवारी दिएर मुुख्यमन्त्री बन्न सुुझाएका थिए । तर, उनले प्रतिनिधिसभा नै रोजे र अन्तत संघीय सरकारकै कानुन मन्त्री बनेका छन् ।
२०२२ सालमा स्याङ्जाको अर्जुन चौपारीमा जन्मिएका धनराज गुुरुङ १४ वर्षकै उमेरमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका थिए । १६ वर्षकै उमेरमा उनी नेविसंघ इकाई सभापति भएका थिए ।
२०४० सालमा नेविसंघ स्याङ्जा जिल्ला सचिव बनेका उनी २०४३ मा पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्दा पनि नेविसंघको राजनीतिमा सक्रिय रहे । २०४८ सालमा नेविसंघको केन्द्रीय उपसभापतिमा निर्वाचित उनी त्यही साल पार्टीको महाधिवेशन प्रतिनिधि पनि भए । उनी २०५३ सालमा नेविसंघको केन्द्रीय सभापति र २०५४ मा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भए ।
त्यसपछि पार्टीको १२ औं र १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका धनराज १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । गठबन्धनको बलमा कांग्रेसकै बाहुल्य रहेको क्षेत्रबाट सांसद बनेका धनराज मन्त्री बन्ने यसअघि पनि चर्चा थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा कांग्रेसको शेखर–गगन समूहबाट धनराजले मन्त्री बन्ने अवसर पाएका छन् । अहिलेसम्म लाभको पदमा नपुगेका धनराजले अब कति जनताको पक्षमा काम गर्न सक्छन्, त्यही नै उनको चुनौती छ ।
प्रतिक्रिया 4