
सामसुङ कम्पनीले आफ्ना कर्मचारीहरुलाई च्याट जीपीटीलगायतका आर्टिफिसियल टुल्सको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
च्याट जीपीटी प्लाटर्फममा कम्पनीका संवेदनशील कोड लिक भएको पत्ता लागेसँगै सामसुङले यस्तो निर्णय गरेको हो । यसअघि च्याट जीपीटीमाथि इटालीले पनि एक महिनाको प्रतिबन्ध लगाएको थियो ।
ब्लूम्बर्गको रिपोर्ट अनुसार दक्षिण कोरियाली कम्पनी सामसुङले सोमबार आफ्ना सबैभन्दा ठूला महाशाखामध्ये एक महाशाखाका कर्मचारीहरुलाई सूचित गरेको थियो ।
गुगल बार्ड तथा बिंग जस्ता विभिन्न आर्टिफिसियल इन्टेलिजेन्स प्लाटर्फममा प्रेषित डाटाहरु बाहिरी सर्भरमा स्टोर हुने र त्यसबाट त्यस्ता डेटाहरु फिर्ता लिन र डिलिट गर्न गाह्रो हुनुका साथै अन्य प्रयोगकर्तालाई पनि त्यस्ता डेटा उपलब्ध गराउन सकिने अवस्था रहेकोमा सामसुङले चिन्ता व्यक्त गरेको छ ।
सामसुङले गत महिना आन्तरिक रुपमा आर्टिफिसियल इन्टेलिजेन्स डिभाइसको उपयोगका बारेमा एक सर्भेक्षण गरेको थियो । त्यसक्रममा ६५ प्रतिशतले एआईको प्रयोगले सुरक्षा जोखिम पैदा गर्ने बताएका थिए । केही दिनअघि मात्रै सामसुङका इन्जिनियरहरुले भुलवस आन्तरिक सोर्स कोडलाई च्याट जीपीटीमा अपलोड गरेर लिक गरिदिएका थिए । त्यसरी लिक गरिएको डेटामा के कुरा संलग्न थियो भन्ने जानकारी चाहिँ सामसुङले दिएको छैन ।
सामसुङले आफ्ना कर्मचारीहरुलाई भनेको छ-च्याट जीपीटी जस्ता जेनेरेटिभ आर्थिफिसियल इन्टेलिजेन्स प्लाटर्फममा आन्तरिक तथा बाह्य रुपबाट रुचि बढिरहेको छ ।
यद्यपि यो रुचि यी प्लाटर्फमहरुको उपयोगिता तथा कार्यदक्षतामा निर्भर गर्दछ । तथापि जेनेरेटिभ एआईले सिर्जना गरेको सुरक्षा जोखिमका बारेमा चिन्ताहरु पनि बढिरहेका छन् ।
योसँगै सामसुङले कम्पनीको स्वामित्वमा रहेका कम्प्युटर, ट्याबलेट तथा फोनका साथै कम्पनीको आन्तरिक नेटवर्कमा पनि जेनेरेटिभ एआई सिस्टमको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया 4