
२१ वैशाख, काठमाडौं । नेपाल सरकारले नागरिक बचतपत्र मार्फत सार्वजनिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ५ वर्ष अवधिको नागरिक बचतपत्र मार्फत सार्वजनिक ऋण परिचालन गर्नको लागि सुचना प्रकाशित गरेको छ ।
बचतपत्र २४ वैशाखदेखि २४ जेठसम्मा आवेदन दिन सकिने र निष्कासन ३० जेठ २०८० मा हुनेछ । बचपत्रको सावाँ भुक्तानी ३० जेठ २०८५ मा भुक्तानी हुनेछ ।
राष्ट्र बैंकले २ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रको ब्याज ६/६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बचपत्रको ब्याजमा ब्याजकर नलाग्ने केन्द्रीय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिनेछ । उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र स्टक वा प्रमिसरी नोटको रुपमा बचतपत्र लिन सकिने । स्टक वा प्रमिसरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने सूचनमा उल्लेख छ । नखुलाइएको अवस्थामा प्रमिसरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्षअवधिको रहेको छ ।
प्रतिक्रिया 4