
पोखरा । हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण शनिबार पोखरामा हुने भएको छ । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ खेलाडी र उनीहरुको क्रु–मेम्वरसहित ६५ जना पोखरा आइपुगेका छन् ।
प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायतका मुलुकका ५ महिला र ३१ पुरुष गरी कुल ३६ खेलाडीको सहभागिता रहने हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाकारी दिएका छन् । गत वर्ष तेश्रो स्थान प्राप्त गरेका चेक रिपब्लिकका पिटर भाव्रोशोक पनि आएका छन् ।
प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । सहभागीहरु ३.८ किमी पौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यसलगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ ।
त्यसपछि ४३ किमि लामो दौड सुरु हुनेछ । दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न १८ देखि २२ घण्टा लाग्न सक्ने आयोजकको अनुमान छ ।
प्रतिक्रिया 4