
२१ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा आंशिक शिक्षक ललित विष्टले हेलमेट बजार्दै तोडफोड गरेका छन् ।
आफ्नो कक्षाको समयमा पढाउन समेत नगई विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा आएर १३ वैशाखमा तोडफोडमा उत्रिएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा विष्टविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार विभागको तर्फबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान सुरु भएको छ । ‘उहाँले त्यहाँ भएको गतिविधिको भिडियो क्लिप पनि उपलब्ध गराउनुभएको छ, अनुसन्धान थालेका छौं’, रिजालले अनलाइनखबरसँग भने ।
समाजशास्त्र विभागका प्राध्यापकहरुका अनुसार विष्टले १३ वैशाखको अपराह्न करिब १२ः४० देखि २ः२० बजेको समयमा अभद्र व्यवहार गरेका थिए ।
प्रहरीलाई उपलब्ध गराइएको क्लोज सर्किट (सीसी) क्यामराको दृश्यमा शिक्षक विष्टले विभागीय प्रमुख लुइँटेलतिर लक्षित गरेर अपशब्द बोल्दै हेलमेट बजारेको देखिन्छ । तनावको स्थिति सिर्जना भएपछि त्यहाँ उपस्थित एक जना विद्यार्थीले उनलाई रोक्ने प्रयास गरेको फुटेजमा देखिन्छ ।
शिक्षक विष्टले एकतर्फी अपशब्द बोलिरहँदा विभागीय प्रमुख लुइँटेलले ‘के बोल्नुभएको यस्तो’ भन्दै प्रश्न गरेको सुनिन्छ । तर, उनले ‘कुर्सीमा बसेर हावा कुरा गर्ने’ भन्दै सोफामा चढेर तोडफोडमा उत्रिएको भिडियोमा देखिएको छ ।
हेर्नुस् भिडियो
विभागीय प्रमुख लुइँटेलका अनुसार विष्टले आफूलाई समाजशास्त्र केन्द्रीय विभागको करार शिक्षकमा नियुक्त गर्नुपर्छ भन्दै पटकपटक दबाव दिँदै आएका थिए ।
‘सीसी टीभीमा त्यसदिनको मात्रै रेकर्ड भएको हो, यस्ता धम्की, भौतिक आक्रमणको प्रयास, गालीगलौज र झुठ्ठा आरोप लगाउँदै पटकपटक दुव्यर्वहार गर्ने प्रयास पहिल्यैदेखि भइरहेको थियो’, उनले अनलाइनखबरसँग भने, ‘त्यसबेला शिक्षक डा. गुमानसिंह खत्री लगायतका कर्मचारी र थेसिस बुझाउन आएका केही विद्यार्थीहरु पनि त्यहीँ थिए । उहाँहरुले पटकपटक रोकेर सम्झाइ बुझाइ गर्न खोज्दा पनि नमानेपछि प्रहरीलाई नै बोलाउनुपरेको थियो ।’
घटनापछि प्रहरी वृत्त, कीर्तिपुरको टोली समेत समाजशास्त्र विभाग प्रमुखको कार्यकक्षमा पुगेको थियो । ‘तर त्यसबेलै कीर्तिपुरमा जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न मानेको थिएन’, विभागका उपप्राध्यापक प्रेम चलाउने भन्छन्, ‘युनिभर्सिटीमा पहिले जसरी गुण्डागर्दी भइरहेको थियो, यो घटना त्यसकै निरन्तरता हो ।’
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीसँग छलफल भएपछि टेकुमा जाहेरी दर्ता भएको थियो ।
चलाउनेमाथि पनि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरमा निर्घात कुटपिट भएको थियो । यसमा संलग्न नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्धको मुद्दा अझै जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।
के हो विवाद ?
समाजशास्त्र विभागका प्राध्यापकहरुका अनुसार आवश्यकताका आधारमा आंशिक शिक्षकहरुलाई करारमा लैजान मिल्ने गरी केही अघि आंशिक शिक्षक व्यवस्थापन कार्यविधि बनेको थियो । त्यही अनुसार अहिले तीन जना शिक्षकलाई करारमा लैजाने प्रक्रिया सुरु भएको थियो ।
विभागीय प्रमुख लुइँटेलका अनुसार कार्यविधि अनुसार करारमा लैजानका लागि सुरुमा केन्द्रीय विभागबाट स्वीकृति लिनुपर्छ । त्यसका लागि त्रिवि रजिष्टारको कार्यालयमा स्वीकृतिका लागि निवेदन पठाइएको थियो ।
तर, स्वीकृति आउनुअघि शिक्षक विष्टले यो विषयलाई लिएर विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
प्राध्यापकहरुका अनुसार हाल विभागमा ५ जना आंशिक शिक्षक छन् । ‘तीमध्ये दुई जना फ्रान्स र जर्मनीबाट विद्यावारिधि गरेर १० वर्षदेखि कार्यरत हुनुहुन्छ, अरु एमफिल गर्दै गरेको हुनुहुन्छ’, एक प्राध्यापक भन्छन्, ‘उहाँ चाहिँ स्नातकोत्तर तह अध्ययन गर्नुभएको शिक्षक हो ।’
आंशिक शिक्षक व्यवस्थापन कार्यविधिमा ज्येष्ठता, निरन्तरता, औचित्यता, आश्यकता र स्रोतको उपलब्धताको आधारमा विभागले केन्द्रसँग स्वीकृत लिएर करारमा नियुक्त गर्नसक्ने उल्लेख छ ।
‘कार्यविधि अनुसार नियुक्ति गर्दा उहाँलाई आफू पर्दिन भन्ने लागेर विवाद गर्नुभएको जस्तो देखिन्छ’, ती प्राध्यापक भन्छन्, ‘नभए छनौट समितिले अन्तर्वार्ता लिएर शैक्षिक प्रमाण पत्र लगायतका आधारमा गर्ने निर्णयमा विभागीय प्रमुख लुइँटेलसमक्ष गएर विवाद गर्नुको औचित्य थिएन ।’
कतिपय प्राध्यापकहरुले उनले राजनीतिक भागबण्डाको आधारमा करारमा नियुक्ति गर्नुपर्ने माग गर्ने गरेको बताएका छन् । विष्टसँग यस विषयमा सम्पर्क गर्न खोज्दा उपलब्ध उनको तीनवटै नम्बरमा सम्पर्क हुन सकेन ।
यसैबीच, जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेर समाजशास्त्र विभागका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयमा कार्यरत रहँदा न्यूनतम सुरक्षाको प्रत्याभूति गराइदिन माग गरेका छन् ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीलाई भेटेर उनीहरुले प्रश्न गरेका छन्, ‘यो हदसम्म प्रताडित भएर कसरी त्रिवि सेन्टर अफ एक्सिलेन्स बन्नसक्छ ?’ जवाफमा एसएसपी कार्कीले यस विषयमा गम्भीर भएर अनुसन्धान गर्ने बताएका छन् ।
प्रतिक्रिया 4