
२१ वैशाख, काठमाडौं । पार्टी सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न पूर्जी जारी गरेको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई भेटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा करिव ४० मिनेट भएको कुराकानीमा एमाले अध्यक्ष ओलीले अधिकांश समय यही विषयमा कुरा गरेका छन् ।
एमाले सचिव रायमाझी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भनेर गरिएको ठगीमा मुछिएका छन् र प्रहरीको सिफारिसमा जिल्ला अदालत, काठमाडौंले बुधबार रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
रायमाझीका छोरा सन्दीपलाई प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएको बेला सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् भने राईका छोरा निरज र बादलका छोरा प्रतीकलाई पक्राउ गर्न पूर्जी जारी भएको छ ।
एमाले अध्यक्ष ओलीका अनुसार पक्राउ पुर्जी जारी भएपछि विहीबार साँझ नै उनको रायमाझीसँग कुराकानी भएको थियो । त्यसक्रममा रायमाझीले आफूले आईजीपीसँग कुरा गरेको र काठमाडौं आउन लागेको सुनाएका थिए । तर शुक्रबार पक्राउ गरेको, फरार भएको जस्ता खबर सुनेको भन्दै ओलीले भने, ‘एउटा सांसद, पटकपटक मन्त्री भइसकेको पार्टीको नेता बाटामा हिँड्दाहिँड्दै समाउनुपर्ने एकदम रहस्यपूर्ण छ ।’
यसबारे आफूले प्रधानमन्त्री प्रचण्डको समेत ध्यानाकर्षण गराएको भन्दै एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘यो तानिएको हो कि तनाएको हो, हामी अध्ययन गर्दैछौं । अध्ययन गरेपछि यसको निष्कर्ष निकाल्छौं ।’
ओलीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएपनि एमालेले साँझसम्म आधिकारिक निर्णय गरेको छैन ।
पक्राउ परेका र पूर्जी जारी भएकाहरु तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि एमाले भएका हुन् । माओवादी पृष्ठभूमिका उनीहरु नेकपा विभाजन हुँदा एमालेतिर लागेका थिए । संकटको त्यो समयमा आफूलाई साथ दिएका कारण ओलीले सार्वजनिक रुपमै बचाउ गरेका छन् ।
तर पार्टीले औपचारिक रुपमा भने तत्काल कुनै निर्णय नलिने एमाले नेताहरु बताउँछन् । एक नेताका अनुसार, प्रहरी अनुसन्धानमै आशंका गर्ने ठाउँ देखिएकाले तत्काल निर्णय नलिने नीति लिइएको हो । अहिले अनुसन्धान सुरु मात्रै भएको हो । ‘अनुसन्धानकै आधारमा दोषी भनिहाल्न मिल्दैन’ ती नेता भन्छन् ।
सचिव रायमाझीले पनि अध्यक्ष ओलीसँग आफूलाई फसाउन षड्यन्त्र भइरहेको प्रष्टोक्ति दिएका छन् । ‘संलग्न छैन भन्नेमा बलियो कन्फिडेन्स देखिन्छ, निर्दोष सावित हुने परिस्थिति छ भने तत्काल निर्णय लिन आवश्यक रहेन’, ती नेता भन्छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि एमाले अध्यक्ष ओलीले पनि रहस्यपूर्ण छ भन्दै षड्यन्त्रकै आशंका व्यक्त गरेका थिए । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल पनि पहिले नै दोषी करार गर्ने प्रयास भएको बताउँछन् । भन्छन् ‘प्रहरीले बोलाएर बुझ्न सक्थ्यो । तर पक्राउ पूर्जी जारी गरेर हल्लाखल्ला गरियो ।’
एमालेसँग सम्बन्ध जोडिएकाहरुलाई मात्रै पक्राउ पूर्जी जारी गरेर प्रचार गरिएकाले आशंका देखिएको एमाले नेताहरुको बुझाइ छ । ‘तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको छ, तर पाण्डे गृहसचिव हुँदाका गृहमन्त्रीबारे केही भनिएको छैन’, एमालेका अर्का नेता भन्छन् ।
तर एमालेले संस्थागत रुपमै आरोपित नेताहरुको बचाउ पनि गर्न सक्ने अवस्था छैन । किनकी आरोपित नेताहरुको प्रष्टोक्तिलाई मात्रै विश्वास गर्ने अवस्था छैन । ‘अहिले षडयन्त्र भन्दै गर्दा भोलि प्रमाणित भए के गर्ने ?’, ओली निकट स्रोत भन्छन्, ‘सत्य कुरा भविश्यमा थाहा भइहाल्छ नि !’
उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पनि यो घटनामा निष्पक्ष छानबिन हुनुपर्ने बताउँछन् । २४ गतेदेखि झापामा बस्ने सचिवालय बैठकमा यसबारे थप छपफल हुने भन्दै उनले भने, ‘राज्यले निष्पक्ष र तटस्थ छानबिन गर्न पाउनुपर्छ, त्यसमा हाम्रो सहयोग रहन्छ ।’
प्रतिक्रिया 4