+
+
व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरण :

रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २३ गते १०:५६

२३ वैशाख, चितवन । पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुंगटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ ।

बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् भने भित्री सडकमा साना सवारी साधान र मोटरसाइकल चलेका छन् ।

शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

बन्दकर्ता आफूहरू मोटरसाइकलमा हिँडेका विभिन्न ठाँउमा पुगेर बन्द गराइरहेका छन् । पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् ।

पुल्चोकमा बन्दकर्ताले अवरोध सिर्जना गरेपछि अत्यावश्यक बाहेकका सवारी साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनबाट आउने सवारी साधनलाई जुगेडीसम्म आउन दिइएको छ । तर, केही बन्दकर्ता मुग्लिनमा समेत देखिएकोले सहज भने छैन ।

कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गर्दा छाडेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ ।

जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन् । प्रदीप नै आत्महत्या प्रकरणको मुख्य व्यक्ति भएकोले पक्राउ गर्नुपर्ने माग व्यवसायीहरुको छ ।

यसैबीच, कांग्रेस चितवनले आज दिउँसो १ बजेदेखि २ बजेसम्म भरतपुरको चौंविसकोठीमा एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने जनाएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले शंकर कँडेल आत्महत्या प्रकरणमा जोडिएका प्रदीपलाई पक्राउ गर्न ढिला गरेकोले दबाब दिन बन्द गर्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?