
२३ वैशाख, धनगढी । नेपाल पत्रकार महासंघले नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति तथा प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरलाई अभिव्यक्ति सच्याउन आग्रह गरेको छ ।
बलायरले समाचारका विषयमा पत्रकारविरुद्ध अभिव्यक्ति दिएको भन्दै महासंघले शनिबार एक विज्ञप्ति जारी गरी सच्याउन आग्रह गरेको हो ।
बलायरले बिहीबार कैलालीको गोदावरी नगरपालिका–१ को सुरक्षा महिला सामुदायिक वन क्षेत्रमा कांग्रेस क्षेत्र नम्बर ४ को पार्टी कार्यालयको शिलान्यास गरेका थिए । सोही विषयमा विभिन्न सञ्चार माध्यममा वन क्षेत्रमा अतिक्रमण गरेर कांग्रेसले पार्टी कार्यालय बनाउन लागेको भन्दै समाचार प्रकाशन तथा प्रशारण भएका थिए ।
बलायर गोदावरी नगरपालिकाकै लामितालमा आयोजित कार्यक्रममा पत्रकारलाई आफ्ना पार्टीका कार्यकर्ताले तह लगाउने अभिव्यक्ति दिएका थिए ।
महासंघका अध्यक्ष हिमालय जोशीले शनिबार विज्ञप्ति जारी गरी समाचारका विषयमा असहमति भए कानुनी बाटो अपनाउने विकल्प हुँदाहुँदै पत्रकार विरुद्ध अभिव्यक्ति दिनु दुखद भएको बताएका छन् । ‘त्यसैले यस्ता अभिव्यक्ति सच्याउन महासंघ आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4