
२४ वैशाख, काठमाडौं । आइतबार प्रतिनिधिसभाको वर्षे अधिवेशनको पहिलो बैठक सुरु हुँदानहुँदै नेकपा एमालेका ३ सांसदले सभामुखसँग बोल्न समय मागे ।
प्रतिनिधिसभा बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठकमा भने आइतबार आकस्मिक, शून्य र विशेष समय नराख्ने सहमति जुटेको थियो । तर सभामुख देवराज घिमिरेले बैठक सुरु नगर्दै एमालेका प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले समय मागे भने नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि समय मागे ।
सभामुख घिमिरेले बोल्न समय दिने भन्दै बैठक सुरु गर्न दिन आग्रह गरेपछि सांसदहरु बसे । सुरुमै समय पाएका एमाले प्रमुख सचेतक गिरीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणलाई प्रतिनिधिसभामा प्रवेश गराए । गत २२ भदौमा राष्ट्रियसभा बैठकमा एमालेकै सांसद पार्वती रावलले यो विषय उठाएको सम्झदै गिरीले अहिले मिडियामा आएको कुरा नौलो नभएको बताए ।
‘गत भदौ २२ गते राष्ट्रियसभामा एमालेकै सांसद पार्वती रावलले यस विषयमा गम्भीरताका साथ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस विषयलाई सरकारबाट सुन्ने काम भएन । आजका मितिसम्म ल्याउने काम भयो’, गिरीले भनेका थिए ।
यो प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ र हाल उनी फरार छन् । तर गिरीले अरु भ्रष्टाचार प्रकरण अगाडि बढाउन माग गरे । ‘जुनसुकै हिसाब र जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचारहरु हुन् । अनियमितताहरु हुन् । कानुनलाई हातमा लिने कुराहरु हुन्’, उनको माग थियो, ‘यी सबै विषयहरुलाई छानबिनको दायरामा ल्याउनुपर्छ । कानुनको दायरामा ल्याउनुपर्छ ।’
नियतमाथि प्रश्न
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सांसदहरुले लगभग एकै शैलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन् । रायमाझीलाई पक्राउ पूर्जी जारी भएपछि प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई उदाहरण बनाउँदै एमाले सांसदहरुले सरकारको नियतिमाथि प्रश्न गरेका छन् ।
‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । बाइडबडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको पनि छानबिन गरौं’ प्रमुख सचेतक गिरीले चुनौतीको भाषामा भने ।
गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्नेकाम सुरु भइसकेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धान टे«लर मात्रै भएको टिप्पणी गरेका थिए । ‘यो ट्रेलर मात्रै हो । यो सिंगो फिलिम देखिन्छ । सिंगै फिलिम देखिनेवाला छ’ प्रचण्डले भनेका थिए ।
प्रचण्डको यही अभिव्यक्तिलाई लिएर एमाले सांसदहरुले अन्य भ्रष्टाचार प्रकरणमा छानबिन अगाडि बढाउन माग गरे । ‘क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यू’, एमाले सांसद सूर्य थापाले भने, ‘त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस् ।’ थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि प्रश्न गरे । ‘म गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु, कमानसिंह लामा ठगी प्रकरणको फिल्म हेर्न चाहन्छु । त्यो फिल्म हेर्ने व्यवस्था गर्नुस् ।’
एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनप्रति नै प्रश्न उठाए । यो प्रकरणमा कसैलाई उन्मुक्ति दिने र कसैमाथि छानबिन अगाडि बढाउने नियत भएको हुनसक्ने बर्तौलाको भनाइ थियो ।
नक्कली शरणार्थीलाई अपराधीको संज्ञा
एमाले सांसद थापाले नक्कली भुटानी शरणार्थी भएर अमेरिका जाने नेपालीहरुप्रति धेरै रुवाबासी नगर्न आग्रह गरेका छन् । ‘नागरिक विदेशी भएर, नक्कली शरणार्थी भएर, देशको नागरिकता त्यागेर रुवासबासी गर्दै हिँड्न जरुरी छैन’, थापाले भने, ‘कोही नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान चाहने नागरिक हो भने त्यो अपराधी हो । अपराधीको बारेमा धेरै रुवाबासी नगरौं ।’
थापाको अभिव्यक्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद बैठकमै नियमापत्ति गरे । ‘एउटा नागरिकलाई बाध्यता पारिएको छ । नागरिकता त्यागेर, ५०÷५० लाख तिरेर शरणार्थी बन्न बाध्य पार्ने यी दलहरु, अझ अहिले उनीहरुलाई उल्टो कारबाही गर्नुपर्छ भन्ने ?’, शाहीले प्रश्न गरे ।
सत्तारुढ सांसदहरुले भने नक्कली भुटानी शरणार्थी प्रकरणलाई एमालेले विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । ‘प्रमुख प्रतिपक्षी भ्रष्टाचारीहरुलाई कारबाही गर्नका लागि इमानदार हो भने तपाईंहरु विषयान्तर नगर्नुस्, माओवादी केन्द्रका सांसद माधव सापकोटाले आग्रह गरे ।
बरु यो प्रकरणमा जोडिएका रायमाझीलाई प्रहरीकहाँ बुझाइदिन उनले सुझाव दिए । ‘इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुहोस् त्यसैमा तपाईंहरु (एमाले सांसदहरु) को कल्याण छ’, सापकाटाले भने, ‘विषयलाई विषयान्तर गर्ने, खिसिट्युरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने जे तपाईंको शैली छ । यसले तपाईंलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’
प्रतिक्रिया 4