
२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप नयाँ एप्लिकेसन सार्वजनिक गरेको छ । महानगरको सेवाप्रवाह सुधारका लागि एकीकृत डिजिटल शुसासन प्रणाली ‘केएमसी एप’ सार्वजनिक गरिएको मेयर बालेन्द्र साह(बालेन)ले बताएका छन् । एप्लिकेसन मार्फत महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था रहेको महानगरले जनाएको छ ।
एप्लिकेसनमार्फत ३० भन्दा बढी सिफारिस, अनलाइन राजस्व, डिजिटल नागरिक वडापत्र, जनगुनासो, स्मार्ट कर लगायतका सेवाहरु प्रवाह हुने महानगरले जनाएको छ ।
एपमा अनलाइनबाटै सम्पत्ति कर, भूमि तथा मालपोत कर, व्य वसाय कर जस्ता विभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको महानगरले जनाएको छ ।
नगद भुक्तानीसम्बन्धी काम घरबाटै
महानगरपालिकाले भुक्तानी दिनुपर्ने विभिन्न कामहरू तथा ठेक्का बापतको रकम भुक्तानीका लागि समेत इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सेवा सुरू गरेको छ ।
महानगरपालिका अनुसार अब इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सेवा सञ्चालन भएसँगै महानगरमा कर तथा रकम तिर्न र भुक्तानी लिन आउन नपर्ने भएको छ ।
सेवाग्राहीहरूले नगद भुक्तानीसँग जोडिएका हरेक कारोबार अब घरबाटै गर्न सकिने व्यवस्था गरिएको मेयर साहले बताए ।
प्रतिक्रिया 4