+
+

१२ वर्षपछि पाकिस्तानी विदेशमन्त्री भारत भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १४:१५

२५ वैशाख, काठमाडौं । १२ वर्षपछि भारतमा पाकिस्तानी उच्चपदस्थ अधिकारीको भ्रमण भएको छ । स्वतन्त्रतापछि तीन पटक युद्ध गरेका यी दुई मुलुकबीच कट्टर दुश्मनी छ ।

यस्तो बेला पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्धारी भारतको गोवामा भएको संघाइ कोअपरेसनको सम्मेनलमा सहभागी हुनपुगे ।

१२ वर्षअघि हिना रब्बानी खार आफ्ना समकक्षी एसएम कृष्णलाई भेट्न दिल्ली पुगेकी थिइन् । दुई मुलुकबीचको वैमनश्य अन्त्य गरी आपसी व्यापार प्रवर्द्धनका लागि उनी भारत पुगेकी थिइन् । त्यस समयमा अमेरिकासँग पाकिस्तानको सम्बन्ध निकै चिसो थियो । ‘मिल्तीका लागि त्यस बेला गरिएको प्रयास र हालका विदेशमन्त्रीको भ्रमणको कुटनीतिक कथानै बेग्लै छ’, वासिंटनका वुद्धिजीवि माइकल कग्लम्यान भन्छन् ।

सन् १९४७ यता दुबै मुलुकबीच कश्मिरलाई लिएर ३ पटक युद्ध भइसकेको छ । सन् २०१९ मा भारतले पाकिस्तानको इलाकामा हवाइ हमलानै गरेको थियो । कश्मिरको भारतीय इलाकामा सेनामाथि हमला भएपछि भारतले त्यो कदम चालेको थियो । यो हमलापछि दुई मुलुकबीच झण्डै आणविक हमला नै हुन खोजेको अमेरिकी  पूर्व विदेश सचिव माइक पोम्पियोको स्मरण छ ।

सन् २०२१ मा सीमा सबन्धी सम्झौतापछि तनाव अलि साम्य भएपनि दुई मुलुकबीचको वैमनाश्यता उस्तै छ । भारतले परीक्षण गरेको सुपरसोनिक क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेपछि पाकिस्तानले कडा प्रतिवाद गरेको थियो । पाकिस्तानले भारतले हेपाहा प्रवृत्ति जारी राखे अकल्पनीय परिस्थिति आउने चेतावनी दिएको थियो । ‘सहज अवस्थामा पनि दुई मुलुकको वैमनश्यता कति बेला बढ्छ भन्ने आकलननै गर्न सकिँदैन । दुबैले एक-अर्काप्रतिको द्वेषलाई राष्ट्रियताको संज्ञा दिएका छन्’, कग्लम्यान भन्छन् ।

गोवा जाने क्रममा जर्धारीले आफ्नो भ्रमण पूर्ण रूपमा सांघाई कोअपरेशनको एजेण्डामा केन्द्रित हुने बताएका थिए । ‘मेरो भ्रमण पूर्ण रूपमा सांघाइ कोपअपरेशनको एजेण्डामा केन्द्रित हुनेछ । मैले त्यहाँ मित्रराष्ट्रका समकक्षीसँग पनि रचनात्मक संवाद गर्नेछु’, उनले भनेका थिए ।

भारत र पाकिस्तान दुबैले सांघाइ कोअपरेशनलाई महत्व दिएका छन् । यस कोअपरेशन मध्य एशियालाई आर्थिक र समारिक रूपमा बलियो बनाउनका लागि चीनले स्थापना गरेको थियो । कोअपरेशनको माध्यमबाट पाकिस्तानले ठूलो व्यापारको आशा राखेको छ ।

पाकिस्तानले बाध्य भएर भारतमा प्रतिनिधि पठाएको कल्गम्यानको बुझाइ छ । ‘भारतीय भूमिमा सम्मेलन हुँदैछ, सहभागिता नजनाउने हो भने पाकिस्तान कोअपरेशनबाटै एक्लिने सम्भावना रहन्थ्यो । त्यसैले पाकिस्तानले बाध्य भएर प्रतिनिधि पठाएको हो’, उनले भने ।

पाकिस्तानले यस भ्रमणलाई दुई पक्षीय नभएर बहुपक्षीय मुद्दामा केन्द्रित गर्न खोजेको विश्लेषक कग्लम्यान भन्छन् । ‘जर्धारी दिल्लीसँग संवादका लागि त्यहाँ पुगेका होइनन् । क्षेत्रीय सहकार्यका लागि आफ्ना एजेण्डा प्रस्तुत गरेर उनी फर्किने छन्’, उनले भने ।

विगत दुई वर्षयता दुई मुलुकको सम्बन्ध स्थिर अवस्थामा छ । दुबैपक्ष आपसी सहकार्यका लागि तयार छैनन् । सीमा क्षेत्रमा तनाव कम गर्ने दुई मुलुकको लक्ष्य हो तर त्यसका लागि आपसी संवाद गर्न दुबै पक्ष तयार छैनन् । ‘पाकिस्तान अहिले आन्तरिक लफडा व्यवस्थापनमै फसेको छ । भारतसँगको तनावले थप संकट निम्त्याउन सक्ने भएकाले ऊ तनाव झेल्ने परिस्थितिमा छैन । यता भारतले अहिले पाकिस्तानबाट भन्दा पनि चीनबाट सुरक्षा खतरा देखेको छ’, प्राध्यापक ज्याकब भन्छन् ।

दुबै पक्ष तनाव व्यवस्थापनको पक्षमा भएपनि राजनीतिक कारणले आपसी मेलमिलापको प्रस्ताव अघि बढाउन सकेका छैनन् । यसको पछाडिको कारण के हो त ?

‘दुबैले आपसी दुश्मनीलाई राष्ट्रवादको नारा बनाएका छन् । मिल्तीको प्रस्ताव दुबै पक्षका सरकारको सत्ताका लागि घातक हुनेछ । नागरिक तहबाट पनि त्यसको कडा प्रतिवाद हुनसक्छ । पाकिस्तानमा त सरकार यसैपनि अलोकप्रिय रहेकाले उसले जोखिम मोल्ने अवस्था छैन । भारतमा पनि राष्ट्रवाद चर्को छ’, कग्लम्यान भन्छन् ।

भारतमा भाजपाका समर्थकले त जर्धारीको पुत्लानै दोहन गरेका थिए । सन् २०२२ मा मोदीविरूद्ध जर्धारीको अभिव्यक्तिलाई लिएर भाजपा समर्थकले उनको पुत्ला दोहन गरेका हुन् ।

भारत पाकिस्तानसँग आतंकवाद नियन्त्रणका लागि संवाद गर्न चाहन्छ । पाकिस्तानको चाहना कश्मिरप्रतिको नीति परिवर्तनका लागि वार्ता गर्ने छ । भारत र पाकिस्तान दुबै मुलुकको बढ्दो राजनीतिक ध्रुवीकरणले पनि आपसी सम्बन्धलाई थप संकटतर्फ धकेलेको छ । आपसी सम्बन्धलाई सुधारका लागि आमने सामने नभएर लुकिछिपी संवादपनि भइरहेका छन् । यसलाई दुबै पक्षका केहीले रूचाएका छैनन् ।‘दुबै पक्ष द्वन्द्व समाधानमा भन्दा पनि द्वन्द्व व्यवस्थापनमा लागेका छन्’, प्राध्यापक ज्याकोब भन्छन् ।

भारत पुगेका जर्धारीलाई समकक्षी एस जयशंकरले आतंकवादका प्रवक्ता भनेर छेडखानी गरेका छन् । सम्बन्ध सुधारका लागि भित्रभित्रै संयन्त्र परिचालन गरेर दुबै पक्ष आपसी वैमानश्यता कायमै रहेको सन्देश दिइरहेका छन् । १२ वर्षपछि भारतमा पाकिस्तानी उच्चपदस्थ अधिकारीको भ्रमणले पनि वैमनश्यताको स्थिति ज्यूँका त्यूँ छोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?