
गर्मीयाम सुरु भएसँगै सोही अनुकूलको खानपान र पहिरनशैली अपनाउनु आवश्यक हुन्छ । त्यति मात्रै होइन मेकअप पनि मौसम अनुसारकै हुनुपर्छ । किनकि गर्मीयाममा मेकअप धेरैबेर टिक्दैन ।
अझ यो मौसममा ध्यान दिनुपर्ने सौन्दर्य प्रसाधन हो लिपिस्टिक । लामो समय नटिक्ने र धेरै अँध्यारो लिपिस्टिक शेड गर्मीयामका लागि राम्रो हुँदैन । त्यसैले यसबेला लिपस्टिकको शेड यस्तो हुनुपर्छ कि कुल देखिनुका साथै आकर्षक पनि होस् ।
कस्तो लिपिस्टिक शेड लगाउने त ?
खैरो शेड
हरेक किसिमको स्किन टोनमा यो रंगको लिपस्टिक लगाउँदा राम्रो देखिन्छ । गर्मीयाममा यो रङको लिपस्टिकले अनुहारलाई भद्दा देखिन दिंदैन । एक समय थियो जब सबैले यसलाई लगाउन मन पराउँदैन थिए । तर आजको समयमा यो रंगले सबैलाई लोभ्याएको पाइन्छ ।
गुलाबी शेड
गुलाबी रङ लगभग सबै युवतीलाई मन पर्छ । गर्मी मौसममा यो रंगको लिपिस्टिक लगाउनाले अनुहारमा चमक आउँछ । गाढा रंगको लुगामा यस रंगको लिपिस्टिक लगाउन सकिन्छ र हरेक उमेरका महिलाका लागि यो रंग सुहाउँदो हुन्छ ।
न्युड शेड
न्युड रंग आजभोलि धेरैले रुचाउँछन् । चाहे घरमा बस्दा होस् वा अफिस वा कुनै बैठकमा यो रंगको लिपिस्टिकले अनुहारलाई थप आकर्षक देखाउँछ । र, अनुहार पसिनाले भिजे पनि लिपिस्टिक लत्पतिने डर हुँदैन ।
कोरल शेड
धेरै उज्यालो शेड मन नपराउनेका लागि यो विकल्प हुन सक्छ । यो रंगले साधारण पोशाकमा पनि कुल र स्टाइलिस लुक्स दिन्छ । कोरलको गुलाबी रंग गर्मीको लागि उत्तम विकल्प हो ।
पर्पल शेड
यो शेड राति हुने पार्टी र डिनर डेटका लागि उपयुक्त हुन्छ । यो शेड सुनौलो, सेतो र कालो रंगको पहिरनसँग मिलाउन सकिन्छ । थोरै गाढा खैरो शेडमा देखिने यस शेडले बोल्ड र आकर्षक लुक्स दिन्छ ।
सुन्तला शेड
यो मौसममा ओरेन्ज लिप शेड सबैलाई मन पर्ने रंग हो । यसले एकदमै उज्यालो देखाउनुका साथै कुनै पनि छालामा राम्रो देखिन्छ ।
हाइड्रेट रहनु आवश्यक
लिपस्टिक जतिसुकै राम्रो किन नहोस्, यदि ओठ सुख्खा छ भने भद्दा देखिन्छ । त्यसैले आफ्नो ओठलाई सधैं हाइड्रेटेड राख्नुपर्छ । आफ्नो ओठ सुख्खा हुनबाट जोगाउन राम्रो गुणस्तरको लिप बाम लगाउन जरुरी छ । पर्याप्त पानी र तरल पदार्थ खानुपर्छ । यसले ओठ मुलायम बनाइराख्छ र लिपिस्टिक लगाउँदा आकर्षक पनि देखाउँछ ।
लिपिस्टिक लगाउने तरिका
जुन रंगको लिपस्टिक छ त्यस्तै रंगको लिप लाइनर लगाउन उपयुक्त हुन्छ । त्यस्तै, ओठको आकारप्रकारलाई ध्यान दिएर लिपिस्टिक लगाउनुपर्छ । यदि पातलो खालको ओठ छ भने ओठभन्दा एक तहमाथि लाइनरले बिस्तारै सेप दिंदै लगाउनुपर्छ । त्यसभित्र लिपिस्टिक लगाउँदा आकर्षक देखिन्छ । यसले ओठलाई मोटो देखाउँछ ।
ओठ मोटो खालको छ भने त्यसलाई हल्का पातलो र आकर्षक देखाउन ओठभन्दा एक तह तल लिप लाइनर लगाउने र त्यसपछि लिपिस्टिक लगाउनुपर्छ ।
जेलयुक्त लिपस्टिक प्रयोग गर्ने हो भने लामो समयसम्म टिकाउन लिपिस्टिक लगाएपछि पाउडर प्रयोग गर्न सकिन्छ ।
(खड्का सौन्दर्यकर्मी हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4