
फिल्म ‘प्रसाद’को पहिलो शृंखला बलात्कारजस्तो जघन्य अपराधलाई सामान्यीकरण गरेकोमा विवादास्पद थियो । दोस्रो भाग रिलिजको संघारमा पनि कलाकार, प्राविधिकहरूले आफ्नो पारिश्रमिकको विवाद उठाउँदै फिल्म प्रदर्शनमा अवरोध सिर्जना गरेका थिए ।
फिल्मको दृश्यभाषा, कला चेतना, हाम्रो समाजको विद्यमान जात व्यवस्थाप्रतिको बुझाइ कहाँ पुग्यो होला ? मेरो ध्यान भने यता थियो र म प्रसाद २ को प्रतीक्षा गरिरहेको थिएँ । प्रसाद २ नेपालको जात व्यवस्था, गाउँको परिवेश र स्थानीय राजनीतिलाई आउटसाइडर भएर हेरिएको, लेखिएको, निर्माण गरिएको फिल्म हो ।
सुन्दरबस्तीको कथामा गणतन्त्र आइसकेपछि बाबुराम, नारायणी र प्रसाद गाउँ फर्किएसँगै स्थानीय निकायको चुनावी सरगर्मी, बदलिएको छुवाछुतमुक्त गाउँ, पुरानै सोच कथाको रूपमा अगाडि बढ्छ ।
तर फिल्मको कथा कथित उच्च जातिको बुझाइ र नजरबाट दलित समुदायको दु:ख, पीडा र भोगाइ परिकल्पना गरिएको छ, जुन एकदमै सतही लाग्छ । त्यसमाथि ‘दलितभित्रै विभेद छ, अनि अरुले झनै भेदभाव गरिहल्छ नि’ भन्दै आफू उम्किन खोजेको देखाउन खोजिएको छ, जुन सोच गलत छ ।
बाबुरामको परिवार गाउँ फर्किएपछि कथा अगाडि बढ्छ । फोहोरी राजनीति, दलितमुक्तिका कुरा, राजनीतिक मुद्दा, समानता, विभेदमुक्त समाज, दलितको राजनैतिक अग्राधिकार र उनीहरूलाई असफल बनाउनेतर्फ काजी, रमेश, पण्डित र उसको समूहको तिकडम वरिपरि कथा घुम्छ ।
फिल्ममा पात्र चयन, सेटिङ, गाउँको वातावरण राम्रो छ तर सबै पात्रले बाँचेको जीवन वास्तविक लाग्दैन । नारायणी र उनको दाइ अजयबीच पहिला के कस्तो सम्बन्ध थियो कथाले केही पनि बोलेको छैन । चुनावको माहोलमा अजयले आफ्नो बहिनी नारायणीप्रति अस्वाभाविक बेवास्ता गर्छन् । कुनै नाता सम्बन्ध नै नभएको जस्तो व्यवहार देखाउँछन् । फिल्म बनाउने क्रममा पात्र, अभिनय, सम्बन्ध, पात्रको ब्याकस्टोरीबारे राम्रो ज्ञान भएका अजयउर्फ महेश तपाथिले कुनै पनि दाइ आफ्नो बहिनी बलात्कृत भएको, हेपिएको, अन्यायमा परेको थाहा पाउँदापाउँदै यतिसम्म क्रूर, मतलबी हुँदैन होला भनेर प्रश्न उठाएनन् होला र ?
फिल्ममा सुहाउँदा पात्र पनि रखिएको छ । अजय र उसको बुवाको भूमिकामा अभिनय गर्ने कलाकार काजीको अनुहार मिल्दोजुल्दो छ । विपिन उनका बुबा र छोराको भूमिकामा अभिनय गर्ने कलाकार पनि मिल्दोजुल्दो नै देखिन्छन् । यसलाई सकारात्मक मान्न सकिन्छ ।
फिल्ममा पात्र वास्तविकजस्तो र परिवेश सुहाउँदो देखिए पनि उनीहरूले गर्ने व्यवहार, उनीहरूले बाँचेको संसार वास्तविक लाग्दैन । नारायणीको लवज बनावटी लाग्छ । फिल्ममा सुरुदेखि अन्त्यसम्म छुवाछुत र बलात्कारको मुद्दालाई प्रधान बनाइएको भएपनि गहिराइसम्म पुर्याउन चुकेका छन् निर्देशक सुदर्शन थापा । जातीय छुवाछुत र बलात्कारजस्तो गम्भीर विषयको कमजोर प्रस्तुतिको रूपमा प्रसाद २ लाई लिन सकिन्छ ।
फिल्ममा कथालाई अगाडि बढाउने बहानामा बारम्बार बलात्कारलाई मजाकको रूपमा चित्रण गरिएको छ । गणतन्त्र आइसक्यो, पात्रमा राजनीतिक चेतना आइसक्यो तर पनि नारायणी र बाबुरामले किन विदेश पठाउने दलाल, बलात्कारी रमेशको बारेमा केही बोल्न सक्दैनन् ? कानुनी उपचार खोज्दैनन् भन्नेतर्फ कथा मौन देखिन्छ । इज्जतको डरले हो भनौं भने प्रसाद अर्काको छोरा हो, प्रसादको जैविक बाबु रमेश हो भन्ने कुरा सारा गाउँलेलाई थाहा भइसकेपछि पनि किन थप कानुनी उपचार, सामाजिक उपचार खोजिएन ? मज्जाले प्रश्न उठाउन सकिन्छ ।
कथामा सजिलै आरन चलाउँदै आएको लोहार र बाबुराम पक्ष परियारबीच बिहेको कुरा पक्का हुन्छ । तर समाजको वास्तविकता भने बाहुन र दलित समुदायको विवाह हुँदा जस्तो पानी बाराबारको अवस्था हुन्छ, त्यहाँ पनि त्यस्तै छ । तर फिल्ममा बाबुराम (विपिन) ले भन्नासाथ बिहेको कुरो मिलिहाल्छ । कथामा काजी कसरी आफ्नो छोरीप्रति त्यति कठोर हुन सक्छन् ? दलितको घरमा कथित उच्च जातको व्यक्तिले पानी खाइदिंदैमा त्यस्तो खुसी हुनुपर्ने के छ ? छोरीले दु:ख पाउँदा, सारा गाउँलेबाट हेपिंदा चित्त नदुखाएका काजीको छोरी बलात्कृत भएको थाहा पएपछि भने एकदम चित्त दुख्छ र एकाएक छोरीप्रति माया जाग्छ ।
बलात्कारपछि जन्मेको छोरा प्रसाद, पसलको नाम प्रसाद, बच्चाले मान्छे नै मारे पनि कानुन लाग्दैन, बलात्कार हुँदा सारा गाउँलेले थाहा पाएपनि शक्तिशाली भएपछि कसैले केही गर्न नसकेको दृश्य लगायतले फिल्ममा गलत भाष्य निर्माण गर्न सक्छ ।
समग्रमा प्रसाद २ ले छुवाछूत र बलात्कारजस्तो गम्भीर विषय हल्का रूपमै भए पनि उठाउनु आफैंमा प्रशंसनीय छ ।
(लेखक फिल्म एजुकेटर हुन् ।)
प्रतिक्रिया 4