
२७ वैशाख, काठमाडौं । नेपालको शोधनान्तर बचतको स्थिति उकासिंदै गएको छ । तर, प्रत्यक्ष वैदेशिक लगानी ठूलो दरमा घटेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को चैतसम्म शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ । अघिल्लो फागुनसम्म यस्तो बचत १४८ अर्ब रुपैयाँ बराबर थियो भने अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा थियो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा पुगेको छ ।
समीक्षा अवधिमा चालु खाता भने ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको चालु खाताको घाटा पनि विस्तारै बचततर्फ उन्मुख छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटाको अवस्थामा आइपुगेको छ ।
यो वर्ष प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ८९ करोडले कम भएको देखिएको छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर २४ प्रतिशतले कम भएर ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ भने २ अर्ब ६२ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ थियो ।
प्रतिक्रिया 4