
२७ वैशाख, काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धानलाई सहयोग गर्न पार्टी सचिव टोपबहादुर रायमाझीलाई संसद मार्फत पनि आग्रह गरेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले मंगलबार आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जानकारी गराएका हुन् ।
‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ । यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं, तपाई यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्’ गुरुङले भने ।
प्रतिनिधिसभा सदस्य रायमाझी एमालेका सचिव हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ र उनी फरार छन् ।
भ्रष्टाचारका मुद्दाहरुको अनुसन्धान गर्ने सरकारको कार्यमा आफ्नो पार्टीको समर्थन रहने उपमहासचिव गुरुङले बताए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले जुन खालको अनुसन्धान सुरु गरेको छ । …सरकार तलमाथि दायाबायाँ नगरीकन लागोस् । दोषीहरु कोही नछुटुन्, निर्दोष व्यक्ति कोही पनि नपरुन् भन्ने अभियानका साथ लागोस्, नेकपा एमाले यो सरकारको काममा सहयोग र समर्थन गर्छ’ उनले भने ।
प्रतिक्रिया 4