
२७ वैशाख, काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शक्तिको दुरुपयोग गर्दै फाजिल, काजमा बस्ने कर्मचारीको चाडैं व्यवस्थापन गर्ने बताएका छन् ।
बुधबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै दरबन्दी छोडेर काज, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापनका लागि आफू कठोर बन्ने बताएका हुन् ।
‘कर्मचारीको अहिले काजमा बस्ने रोग नै बनिसकेको छ । मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै करार नियुक्ति र फाजिलमा रहेका कर्मचारीको भद्रगोल अवस्थाबारे बुझिसकेको छु,’ मन्त्री बस्नेतले भने, ‘यो बिषयमा सुधार गर्न म कोशिस गर्दा मलाई धेरै किसिमको अप्ठायारो पार्ने कोसिस गर्छन्।’
‘जोसुकैले खुट्टा तान्ने प्रयास गरेपनि म यो विषयमा कठोर भएरअघि बढ्छु । संसारमा सबै किसिमको औषधि बनेका छन् । यो रोगलाई कस्तो औषधि चाहिन्छ भन्ने मलाई राम्रो सँग थाहा छ । तर, मलाई मिडियाको साथ चाहिन्छ,’ मन्त्री बस्नेतले थपे ।
त्यसैगरी मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताएका छन् । सूर्तीजन्य पदार्थमा अन्त्यन्तै कम कर भएकाले त्यसलाई बढाउनुपर्नेमा उनको जोड थियो ।
‘सुर्तीजन्य पदार्थमा कर बढाउँदा कसैलाई पनि असर हुँदैन । खान नसके रोगबाट जोगिन सकिन्छ। खाए राज्यलाई कर बढ्छ,’ उनले भने। मन्त्री बस्नेतले अर्थतन्त्र बिग्रिएका बेला सूर्तिजन्य पदार्थमा कर बढाउने उपयुक्त उपाय भएको बताए।
करबाट उठेको रकमलाई विपन्न वर्गका उपचारका लागि खर्च गरिने कार्ययोजना बनाइरहेको उनको भनाई छ । ‘कर बाट उठेको रकमबाट क्यान्सरका बिरामी तथा विपन्न वर्गको उपचारलाई खर्च गर्ने सम्बन्धित निकाय र नेतृत्वलाई निर्देशन दिएको छु ’ मन्त्री बस्नेतले भने।
मन्त्री बस्नेतले कूल बजेट ६ प्रतिशतले घट्ने देखिएको भए पनि स्वास्थ्यको सिलिङ ४० प्रतिशतले घटेर आएको भन्दै स्वास्थ्यको स्रोत बढाउन पनि सुर्तीजन्य पदार्थको कर को दर बढाउन खोजेको बताए ।
विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत पुर्याउन सुझाव दिएको छ ।नेपालमा भने सुर्तीजन्य पदार्थमा करको दर ३५ प्रतिशतको आसपासमा छ ।त्यसैगरी मन्त्री बस्नेतले स्वास्थ्य बीमा लगायतका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कदम चाल्ने समेत बताए ।
‘औषधिमा एकरुपता पनि छैन, बीमा गरेको मानिसको उपचार गर्दा दोस्रो दर्जामा राखेर हेरिन्छ भन्ने गुनासो सुनिएको छ,’ मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम राम्रो हो । तर, त्यसलाई कार्यावन्यन गर्ने पक्षको काम त्यति राम्रो देखिएको छैन । त्यसलाई सुधार गर्न जरूरी छ।’
प्रतिक्रिया 4