+
+

एमालेसहित चार दलले बुझाए संसदीय सुनुवाइ समितिमा रहने सदस्य

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते २०:११

२७ वैशाख, काठमाडौं । नेकपा एमाले सहित चार दलले संसदीय सुनुवाइ समितिमा रहेको सदस्यहरुको नाम पठाएका छन् ।

एमालेबाट प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, योगेश भट्टराई र इश्वरी जिएमको नाम गएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पशुपति शमशेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रमुख सचेतक सन्तोष परियारको नाम गएको छ । जसपाले पनि सुनुवाइ समितिमा रहने सदस्यको नाम पठाएको छ ।

संसदको सुबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम पठाएका छैनन् ।

एमालेसहित चार दलबाट संयुक्त समितिमा रहने सदस्यहरुको नाम प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । संघीय संसदमा प्रतिनिधिसभा र र राष्ट्रिय सभाका सदस्य सम्मिलित संयुक्त दुई वटा समिति रहने व्यवस्था छ ।

संसदीय सुनुवाइ समितिको अलावा अर्को समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा रहने सदस्यहरुको नाम पनि एमाले सहित चार दलले पठाएका छन् । राज्यका निर्देशक सिद्धान्त समितिमा एमालेले ज्वाला शाह, ठाकुर गैरे, मानवीर राई र भगवती चौधरीको नाम पठाएको छ ।

कांग्रेस र माओवादीको भने दुवै समितिमा रहने सदस्यहरुको नाम पठाएका छैनन् ।

संयुक्त समिति १५ सदस्यीय हुन्छ । राष्ट्रिय सभाका ३ र प्रतिनिधिसभाका १२ जना सदस्य व्यवस्था छ । राष्ट्रिय सभाले दुवै संयुक्त समितिमा रहने सदस्यहरुको नाम पठाइसकेको छ । अब प्रतिनिधिसभा तर्फबाट समितिमा रहने बाँकी सदस्यहरुको नाम प्राप्त भएपछि संयुक्त समिति गठन गर्ने सभामुख देवराज घिमिरेको तयारी छ ।

संसदीय सुनुवाइ समिति गठन नभएका कारण संवैधानिक परिषदको बैठकबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस भएको भए पनि अगाडि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?