
काठमाडौं । फिल्म छायांकन नसकिंदै ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मेडन’ ठूला अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको छ । दशैंको छेको पारेर यो फिल्म आगामी कात्तिक ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र के खनालले स्वदेशसहित अधिकांश विदेशी बजारमा सोही दिनमा प्रदर्शन गरिने बताए ।
उनका अनुसार फिल्मको विदेश राइट्स बिक्रीबापत दुई करोड रुपैयाँभन्दा बढी नेट कलेक्सन भएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मध्यपूर्व, मलेसिया र युरोपेली मुलुकमा फिल्म प्रदर्शन निश्चित भएको हो । ‘नेपालसहित सोही दिनमा यी सबै क्षेत्रमा रिलिज हुनेछ,’ खनालले अनलाइनखबरसँग भने ।
२०७३ सालमा रिलिज भएको हिट फिल्म ‘पशुपतिप्रसाद’को स्पिनअफको रुपमा यो फिल्मको निर्माण सुरु भएको हो । बिहीबार फिल्मको छायांकनले ५० दिन पूरा गरेको छ । अहिले पशुपति क्षेत्रमा भइरहेको फिल्मको छायांकन अबको डेढ सातामा सकिने खनालले बताए । छायांकनमा ढिलाइ भएसँगै फिल्मको बजेटमा पनि वृद्धि हुने देखिएको छ ।
‘हामीले हतार नगरीकन सकेसम्म राम्रो आउटपुट दिने प्रयास गरेका छौं,’ निर्देशक खनालले भने, ‘बजेट बढ्ने देखियो, चुनौती पनि धेरै छन् ।’ यो फिल्मलाई यस वर्षको प्रतीक्षित फिल्मको रुपमा लिइएको छ । दशैं आउन करिब ६ महिना बाँकी रहँदा नै अन्तर्राष्ट्रिय वितरकले वितरण अधिकार सुनिश्चित गरेर रिलिजको तयारी गरेको बुझ्न सकिन्छ ।
भष्मे डनमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल लगायतको शीर्ष भूमिका छ । फिल्मको लेखन तथा निर्माण खगेन्द्र लामिछानेले गरेका हुन् ।
प्रतिक्रिया 4