
काठमाडौं । थुनामुक्त भएपछि अभिनेता पल शाहले निर्माण तथा निर्देशन गरेको गीतिकथा बिहीबार युट्युबमा रिलिज भएको छ । चार वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल संस्करण रहेको यो गीत शाहको पछिल्लो एक वर्षको वास्तविक जीवनमा आधारित छ ।
थुनामा लगिएदेखि रिहा भएपछिको कथावस्तुसम्म समावेश गरिएको यो गीतमा परिवारको मनोदशालाई पनि चित्रण गरिएको छ । अभिनेत्री सूर्यमाला खनालले यसमा पलकी आमाको भूमिकामा अभिनय गरेकी छन् भने बुवाको भूमिकामा प्रकाश अधिकारी छन् । थुनामुक्त भएपछिको प्लटमा मोडल सनिशा भट्टराईसँग पलको रोमान्स देख्न सकिन्छ ।
भिडियोको सुरुमा हतकडी लगाएर प्रहरीले लगेको दृश्यमा पललाई देख्न सकिन्छ । थुनाभित्र रहँदाको मनोदशालाई पनि उनले चित्रण गरेका छन् । गीतको शब्द तथा संगीत पुष्पन प्रधानको छ भने आवाज अनु चौधरीको छ । थुनामुक्त भएपछि पहिलोपटक रुकुम महोत्सवमा बोल्दै शाहले पहिलो कामको रुपमा आफूले ‘तिमीलाई हेर्ने बानी पर्यो’को दोस्रो संस्करण ल्याउने घोषणा गरेका थिए ।
गत फागुन १४ गते उच्च अदालत पोखराले पललाई बाल यौन दुरुपयोगको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो । त्यसको भोलिपल्ट उनी तनहुँ जिल्ला कारागारबाट रिहा भएका थिए ।
प्रतिक्रिया 4