२८ वैशाख, काठमाडौं । जारी लिगमा जावलाखेल ऐतिहासिक रुपमा शीर्ष उडानमा छ । तीन दिनको बीचमा दोस्रो खेल खेलेको जावलाखेलले १७औं चरणमा फ्रेण्ड्सलाई ४–१ गोलले हराएर फेरि शीर्ष स्थानमा पुगेको छ ।
चर्च ब्वाइजसँग समान ३० अंक भए पनि हेड टू हेडमा जावलाखेल अघि रहेको हो । यद्यपि चर्च ब्वाइजले १ खेल कम खेलेको छ ।
नेपाली फुटबलमा लामो इतिहास बोकेको जावलाखेल युथ क्लबको शहीद स्मारक ए डिभिजन लिगको रेकर्ड त्यति राम्रो छैन । २०६७/६८ मा तेस्रो हुनु नै उनीहरुको अहिलेसम्मको ठूलो उपलब्धी हो ।
जावलाखेलसँग नाम चलेका खेलाडी छैनन् । राष्ट्रिय टिममा लामो अनुभव भइसकेका खेलाडीबिना पनि उसको टिमवर्क यो सिजन लोभलाग्दो छ ।
तालिकाका पुछारतिरका केहि टिमसँगको अप्रत्यासित हार बिर्सिने हो भने जावलाखेलले प्रतिस्पर्धात्मक रुपमा उच्चस्तरको फुटबल खेलिरहेको छ । पाँचजना विदेशी खेलाडीलाई पालैपालो मैदानमा उतार्ने विकल्प हुँदा प्रशिक्षक सुनील श्रेष्ठलाई सहज भएको छ ।
फ्रेण्ड्ससँग च्यासल मैदानमा बिहीबार भएको खेलमा पनि प्रशिक्षक श्रेष्ठले फोडे फोफानालाई बेन्चमा राखेर उज्वेकिस्तानका मिडफिल्डर अब्दुलअजिज निशोनभेवलाई खेलाउने निर्णय सही सावित भयो । जावलाखेलले पहिलो हाफमा गरेको दुवै गोलमा अब्दुलअजिजको प्रत्यक्ष संग्लग्नता थियो ।
अब्दुलअजिजको कर्नरमा भारतीय डिफेण्डर राहुलले गोललाइन नजिकैबाट २०औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा अब्दुलअजिजले फ्रिकिकमार्फत मिलाइदिएको बललाई एनकोटो सिनुस मोसाबीले पेनाल्टी एरियाबाट गोल गरेका थिए ।
‘टिममा चारजना विदेशी मात्र खेलाउन मिल्ने भएकाले मिडफिल्डर अब्दुलअजिजलाई राखेका थियौं । उनको सेट पिसमा राम्रो थियो । उनकै कारण गोलहरु निस्कँदा हामी सफल भयौैं,’ खेलपछि प्रशिक्षक सुनील श्रेष्ठले भने ।
६४औं मिनेटमा मोसाबीको व्यक्तिगत दोस्रो गोलबाट ३–० ले अघि बढ्दा पनि जावलाखेलको टिम व्यवस्थापन ढुक्क थिएन । किनभने गत सिजनको लिगमा फ्रेण्ड्सले ३–० ले पछि परेको स्थितिबाट खेल बराबरीमा पुर्याएको थियो ।
८०औं मिनेटमा श्यामबाबु क्याप्चाकीले बक्स बाहिरबाट शानदार गोल गरेपछि फ्रेण्ड्सले अन्तर घटाएको थियो । तर, अन्तिम मिनेटमा अब्दुलअजिजलाई प्रतिस्थापन गरेर मैदान छिरेका फोफानाले इन्जुरी समयमा शानदार भली गोलमार्फत टिमलाई ४–१ को जित निश्चित गरे ।
‘१७औं चरण सुरु भएको छ । अहिले यति प्रतिस्पर्धा छ कि २४ अंक हुँदासम्म हामी ढुक्क थिएनौं । आजको जितपछि हामीले रेलिगेसनको खतराबाट माथि उठेका छौं,’ रेलिगेसनको जोखिमबाट माथि उठेपछि शीर्षस्थानका लागि प्रतिस्पर्धामा जानेबारे प्रशिक्षक श्रेष्ठले थपे, ‘ हामी हरेक खेलमा यस्तै नतिजाको निरन्तरता चाहन्छौं । दुई खेलमा जित आएको छ । त्यसअघि हामीले दुई खेल हारेका थियौं । टिमवर्क यसरी नै राम्रो हुँदै गयो र नतिजा आइरह्यो भने अवश्य पनि हामी राम्रो पोजिसनमा हुनेछौं ।
मंगलबार दशरथ रंगशालामा हिमालयन शेर्पालाई पराजित गरेको जावलाखेलले आज बिहीबार तीन दिनको बीचमा दोस्रो खेल खेलेको हो । टिममा खेलाडीहरु चोटबाट फर्किने क्रममा रहनु जावलाखेलका लागि खुसीको विषय हो । तर, व्यस्त तालिकाले जोखिम उत्तिकै छ ।
‘आज हामीले एक दिनको अन्तरमा खेल्यौं । खेलाडीलाई आराम पुगेकै छैन । त्यसले कठिन भइरहेको छ । चोटग्रस्त खेलाडीहरुलाई खेलाउनु परेको छ । यद्यपी यही गतिमा अगाडि जाने हो भने हामीलाई राम्रो हुन्छ,’ प्रशिक्षक श्रेष्ठले बाँकी ९ खेलहरु कठिन रहेको स्वीकारे ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4