
२८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र गुनासो सुन्ने अधिकारीहरुसँग छलफल गरेको छ । राष्ट्र बैंकले गुनासो सुनुवाइ इकाइमा गुनासो बढ्दै गएपछि राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओ र गुनासो सुन्ने विभागीय प्रमुखसँग बिहीबार करिब साढे २ घण्टा छलफल गरेको हो ।
छलफलमा राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी, दुवै डेपुटी गभर्नर र नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सहित ४ जना विभागीय प्रमुखको उपस्थिति रहेको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेको गुनासो सुनुवाइ इकाइ गभर्नर कार्यालय अन्तरगत लगेर निर्देशकले नेतृत्व गर्नेगरी छुट्टै डिभिजनको रुपमा राष्ट्र बैंकले अगाडि बढाएको छ ।
यस्तोमा राष्ट्र बैंकको उक्त इकाइमा आएको उक्त गुनासोको समाधान कसरी गर्ने बैंकहरुले आएका गुनासोहरुलाई कसरी सम्बोधन गरिरहेका छन् भनेर छलफल आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ । तर, आर्थिक मन्दीसँगै कर्जा असुलीमा समस्या झेलिरहेको बैंकहरुले कर्जा असुली गर्दा ऋणीको कुरा नसुन्ने जस्ता धेरै गुनासो बढेपनि कसरी अगाडि जाने भन्नेबारे राष्ट्र बैंकले छलफल गरेको अधिकारीहरु बताउँछन् ।
राष्ट्र बैंकमा गुनासो सुनुवाइ इकाइको नेतृत्व निर्देशक किरण पण्डितले गरेका छन् । राष्ट्र बैंक र बैंकहरुमा एक गुनासहरु कतिपय ‘जेन्यून’ पनि हुने भन्दै त्यसलाई समाधान पनि गर्नुपर्ने भएकोले आगामी दिनमा चुनौतीपूर्ण रहेकोले कसरी जाने भनेर नै राष्ट्र बैंकले छलफल आयोजना गरेको बैंकरहरु बताउँछन् ।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षाको पूर्वसन्ध्यामा बैंकका प्रमुख कार्यकारी अधिकृत समेतको बैंठक आयोजना गरेको हो । यद्यपि मौद्रिक नीति भन्दा पनि सेवाग्राहीको गुनासो व्यवस्थापनमा नै छलफल केन्द्रित भएको ती बैंकरले बताए ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । शुक्रबार बिहान राष्ट्र बैंकले सञ्चालक समितिको बैठक बोलाएको छ ।
प्रतिक्रिया 4