
२८ वैशाख, गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न गएका विदेशी नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन् ।
अस्ट्रेलियन नागरिक अन्दाजी ३३ बर्षकी क्रिस्टेन लुइस विल्सनलाई बिहीवार साम्दोमा कुकरले टोकेको हो । उनको टाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
उपचार लागी उनलाई बिहीवार हेलिकप्टर चार्टर गरी काठमाण्डौ लगिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । गाउँका भुस्याहा कुकुरले यसअघि पनि दुईजना पर्यटकलाई आक्रमण गरिसकेको चुमनुब्री गाउँपालिका वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।
गाउँतिर आउने कस्तुरीलाई समेत आक्रमण गरेर मार्ने गरेको उनले बताए। भुस्याहा कुकुर नियन्त्रण र व्यवस्थापनमा कुनै पनि निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।
यता गोरखाको भिमसेन थापा गाउँपालिका-१ को घ्याम्पेसालमा बिहिबार कुकुरको टोकाईबाट एकैदिन पाँच जना घाइते भएका छन् ।
घाइतेलाई एम्बुलेन्समार्फत गोरखा अस्पताल पठाइएको स्थानीय शितल गुभाजुले बताए। बारपाकमा पनि वुधवार कुकुरको टोकाइबाट तीन जना घाइते भएका छन् । उनीहरु गोरखा अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया 4