
३० वैशाख, काठमाडौं । भारतको कर्नाटक विधानसभा चुनावको मत गणना जारी छ । मत गणनाको रुझानले कांग्रेसले बहुमत पाउने देखिएको छ भने भारतीय जनता पार्टी (बीजेपी) निकै पछाडि छ ।
अहिलेसम्म कांग्रेस १२० सिटमा अगाडि छ । बीजेपी मात्र ६० सिटमा अगाडि छ भने जेडीएस २० भन्दा बढी सिटमा अगाडि छ ।
१० मेमा मतदान भएको थियो, जसमा खसेका मतहरुको २६ वटा मतगणना केन्द्रमा भोट गणना भइरहेको छ । चुनाव आयोगका अनुसार यो पटक ७३.१९ प्रतिशत मतदान भएको थियो, जुन राज्यका लागि रेकर्ड नै हो ।
भारतीय सञ्चार माध्यमहरुको एक्जिट पोलले बीजेपी हार्ने र कांग्रेसले जित्ने देखाएको थियो । अहिलसम्मको रुझान हेर्दा कांग्रेसले बहुमत ल्याउने देखिएको बीबीसी हिन्दीले जनाएको छ ।
१९८५ पछि यो राज्यमा कुनै पनि पार्टीले लगातार दुई पटक सरकार बनाएको छैन । रुझानअनुसार एभडी कुमारस्वामीको जनता सेक्युलर दल (जेडीएस) तेस्रो दल बन्ने देखिएको छ ।
मतगणना गर्नुअघिसम्म त्रिशंकु विधानसभामा सरकार बनाउन जेडीएसको भूमिका महत्वपूर्ण हुने मानिएको थियो । तर कांग्रेस एक्लै बहुमततर्फ अग्रसर देखिएकाले अहिलेसम्म त्यो अवस्था देखिएको छैन ।
२२४ सदस्यीय कर्नाटक विधानसभामा सरकार बनाउन ११३ सिट जित्नुपर्छ । हाल विधानसभामा बीजेपीका ११६, कांग्रेसका ६९, जेडीएसका २९, बीएसपीका एक स्वतन्त्र दुई विधायक छन् । ६ पछि खाली छ, जसमा एक सभामुखको सिट छ ।
प्रतिक्रिया 4