+
+

स्वतन्त्र जितेका अध्यक्षको गुनासो- गाउँपालिका राष्ट्रिय महासंघले अस्तित्व स्वीकार गरेन

रामहरि ओझा रामहरि ओझा
२०८० जेठ १ गते ८:२०

१ जेठ, डोटी । स्थानीय तहको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी गाउँपालिकाहरुको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघले स्वतन्त्रको अस्तित्व स्वीकार नगरेको गुनासो गरेका छन् ।

आफू निर्वाचित भएको एक वर्षको कार्यकाल सम्झंदै जोशीले यो अवधिमा धेरै तिता-मिठा अनुभवहरू लिने अवसर पाइएको सुनाए । ‘गाउँपालिका महासंघले स्वतन्त्र उम्मेदवार भएर जितेका अध्यक्ष-उपाध्यक्षहरुको अस्तित्व स्वीकार गर्दो रहेनछ,’ जोशीले भने, ‘यो पनि तितो अनुभव हो, मलाई अचम्म लागेको छ ।’

उनले महासंघको विधान संशोधन भएर स्वतन्त्रहरु पनि महासंघ परिवारको हिस्सा बन्ने विश्वास रहेको बताए ।

‘यद्यपि दलहरुको माथिल्लो नेतृत्वको हामी स्वतन्त्रहरुप्रति गरेको अपेक्षा, विश्वास र साथको म अन्तरहृदयबाटै प्रशंसा गर्न चाहन्छु,’ जोशीले थपे, ‘स्थानीय तहमा दलगतभन्दा स्वतन्त्र व्यक्तिहरु निर्वाचित हुने पद्धतिको विकास हुनुपर्छ ।’

संविधान र स्थानीय सरकार संचालन ऐनले गाउँपालिकामा प्रतिपक्ष दलको व्यवस्था नहुने गरि संरचना बनाएको बताउँदै उनले त्यसैले स्थानीय तहमा दलविहीन उम्मेदवारी हुनुपर्ने बताए ।

जनताको साझा माग र अधिकार पूरा गर्न कुनै दलसँग आवद्ध नभइ स्वतन्त्र व्यक्तिले मात्रै सक्ने उनको दाबी छ ।

एक वर्षे अनुभव : स्रोत साधन थोरै, जनअपेक्षा धेरै

अध्यक्ष जोशी अवधिमा आफूले धेरै कुरा सिकेको बताउँछन् । ‘यो एक वर्षको अनुभवले आगामी वर्षमा काम गर्न थप ऊर्जा मिलेको छ, त्यसैले म उत्साहित छु,’ जोशीले भने, ‘अझै छिटो छरितो सेवा प्रवाह गर्दै लोककल्याणकारी विकासका कामहरुमा दृढतापूर्वक लाग्ने साहस बढेको महसुस गरेको छु ।’

निर्वाचनको समयमा जनताका बीचमा गरेका प्रतिबद्धताहरु पूरा गर्न आफ्नो तर्फबाट यो अवधिमा सक्रियतापूर्वक लागेको बताउँदै जोशीले जनताले गाउँपालिकाबाट धेरै अपेक्षा गरेको तर स्रोत सधानको सीमितता भएका कारण चाहे अनुसारको उपलब्धि  हुन नसकेको बताए ।

उनले थपे, ‘पदमा पुगेपछि बाहिर बसेर बनाएको योजना कार्यान्वयन गर्न स्वभाविक रुपमा असहजता हुँदो रहेछ ।’

उनले कतिपय कानुनी बाध्यता, राजनीतिक दलहरुको स्वार्थगत मनोवृति, कर्मचारीतन्त्रभित्रको राजनीतीकरण जस्ता विषयहरुले आफूलाई काम गर्न असहज भएको बताए ।

यो एक वर्षको अवधिमा गाउँपालिकाका मुख्य-मुख्य समस्याहरु पत्ता लगाउन आफू सफल भएको जोशीको भनाइ छ । ‘चरम गरिबी, गुणस्तर तथा मापदण्ड विपरीत सामुदायिक शिक्षण प्रक्रिया अशिक्षा तथा शैक्षिक बेरोजगारी, कानुनको कार्यान्वयनमा जटिलता, सामाजिक साँस्कृतिक समस्या रहेको उनी बताउँछन् ।

यो एक वर्ष उनले दरबन्दी अनुसारका कर्मचारी पनि पाएनन् । ‘दरबन्दी तेरिज अनुसार पर्याप्त जनशक्ति र दक्ष जनशक्ति छैन,’ अध्यक्ष जोशीले भने, ‘सबै शाखाहरु निमित्तको भरमा चलिरहेका छन् ।’

हालको जनसंख्या, विकासको वितरण र जनचाहना पूरा गर्न कर्मचारीको संख्यामा वृद्धि हुनु पर्ने जोशीले महसुस गरे । उनी थप्छन्, ‘कम्तिमा दरबन्दी अनुसारका कर्मचारीहरु त हुनुपर्छ गाउँपालिकामा ।’ उनी आवश्यक र दक्ष कर्मचारी नभए गुणस्तरीय सेवा प्रवाह गर्न समस्या हुने बताउँछन् ।

एक वर्षको अवधिमा भौतिक पूर्वाधार विकास जस्तै सामाजिक सांस्कृतिक विकास पनि महत्वपूर्ण छ भन्ने कुराको महसुस भएको जोशी बताउँछन् ।

गाउँपालिकाको विकासका लागि टिममा सामूहिक जिम्मेवारी बहन गर्दै आएको जोशीको भनाइ छ । ‘यो अवधिमा विधिको शासन, पारदर्शी र जवाफदेही भएर काम गरेका छौं,’ जोशी भन्छन्, ‘हाम्रो समस्या हामी आफैं अग्रसर नभइ समाधान हुँदैन, त्यसैले हामी सक्छौं अभियान संचालन गर्नुपर्छ भन्ने पनि सिकाइ भएको छ ।’

निवर्तमान कार्यपालिकाले आफ्नो स्वार्थसिद्ध गर्न सिर्जना गरेको दायित्व पूरा गर्नु पर्ने, वित्तीय समानीकरण अनुदान घट्दै जानु, सशर्त कार्यक्रमको चाप बढेर जानु गाउँपालिकाका लागि चुनौती भएको जोशी बताउँछन् ।

उनी थप्छन्, ‘संघ र प्रदेश सरकारले अनुचित लाभका लागि स-साना टुक्रे योजनाहरु सञ्चालन गर्नु, संघ र प्रदेशका योजनाहरुमा आर्थिक अनियमितता बढ्नु पनि हाम्रा लागि चुनौतीको विषय छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?