
१ जेठ, दाङ । सरकारले घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का तोडेको छ । भारतीय निर्माण कम्पनीले चार वर्षदेखि अलपत्र पारेको घोराही–तुलसीपुर सडक ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
सोमबार आफ्नो निर्वाचन क्षेत्र दाङको एक कार्यक्रममा शर्माले भनिन्, ‘चार लेन सडक निर्माणको सम्झौता भर्खरै खारेज भएको छ । केहीदिनभित्रै सूचना पनि आउँला ।’ उनले ठेक्का तोडिएपछि अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको पनि बताइन् । नयाँ ठेक्का लगाउने काम छिट्टै सुरु गर्ने पनि मन्त्री शर्माले जानकारी दिइन् ।
नयाँ टेन्डरको लागि समय लाग्ने बताउँदै उनले त्यसअघि सडक डिभिजन कार्यालयले सडक मर्मत सम्भारको काम अघि बढ्ने बताइन् ।
भारतीय एक्जिम बैंकको सहयोगमा उक्त सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर चार वर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत छ । चार वर्षदेखि सडक अलपत्र परेको भन्दै सांसद तथा जनप्रतिनिधिहरुको चर्को आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया 4