
१ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतका ५ नम्बर न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासमा सोमबार बिहानैदेखि म्याद थप गर्न ल्याइने पक्राउ परेका थुनुवाहरुको लाइन सुरु भइसकेको थियो ।
सुरुवातदेखि नै केरकारको शैलीमा प्रस्तुत भएका न्यायाधीश अधिकारी कानुन व्यवसायीहरुभन्दा ज्यादा मुखर देखिन्थे ।
प्रहरीले मानव बेचबिखनको आरोपमा पक्राउ परेकी एक किशोरीलाई म्याद थप गर्न इजलाससामु उभ्यायो । न्यायाधीश अधिकारीले उनको नाम–ठेगाना सोधे ।
अनि न्यायाधीश अधिकारीले थपे, ‘तपाईंलाई किन पक्राउ गरेको हो ?’
किशोरीले जवाफ दिइन्, ‘थाहा छैन ।’
न्यायाधीशले सोधे, ‘पुर्जी दिएको छैन ?’
किशोरीले जवाफ दिइन्, ‘थाहा छैन, भात खाने कागज दिएको छ ।’
न्यायाधीशले केरकार गरे । प्रहरीलाई पक्राउ पुर्जी किन नदिएको भनी सोधखोज थाले ।
ती किशोरीले खल्तीबाट पट्याएको कागज निकालिन् र भनिन्, ‘यो दिएको छ ।’
न्यायाधीश झोक्किए, ‘पक्राउ पुर्जी दिएको रहेछ त । किन नचाहिंदो कुरा गरेको ?’
फेरि न्यायाधीशले उनलाई ‘तपाईंलाई प्रहरीले किन पक्राउ गरेको हो ?’ भनी सोधे । किशोरीले टाउको हल्लाइन् ।
उनले किशोरीको पृष्ठभूमि सोधे, उनले आफू निरक्षर भएको र केही थाहा नभएको जवाफ दिइन् । केहीबेरमा प्रहरीले उनलाई मानव बेचबिखनको आरोपमा पक्राउ गरिएको र यसबारे ह्वाट्सएपमा कुरा गरेको प्रमाण भेटिएको बताए ।
न्यायाधीश फेरि झोक्किए, ‘पढेलेखेको छैन भन्ने, तर ह्वाट्सएप चलाउने ? यसरी झुटो बोल्नुहुन्छ ?’ ती किशोरी कठघरामा उभिएर रोइरहेकी थिइन् । न्यायाधीशले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिए ।
ती युवतीको दुईवटा नाम रहेछ । न्यायाधीशले ती दुवै नाम पढे अनि सोधे, ‘किन राखेको दुईवटा नाम ।’
कुनै जवाफ नदिएकी ती युवती सुँक्क सुँक्क गरिरहेकी थिइन् ।’
न्यायाधीशले आफैं थपे, ‘यस्तै यस्तै गर्न दुई वटा नाम राख्ने हो । यस्तै पारा हो भने त ६० वर्ष पुगेपछि मैले पनि ३ वटा नाम राखे हुने रहेछ । अहिलेसम्म त मेरो एउटा मात्रै नाम छ ।’
****
केहीबेरमा स्कुटर चोरीको आरोप लागेका एक युवक इजलास अघिल्तिर उभ्याइए । न्यायाधीशले घर सोधे ।
ती युवकले भने, ‘सुदूरपश्चिमको बाजुरा ।’
न्यायाधीशलाई झोक चलिहाल्यो, ‘पूर्वमा पनि बाजुरा छ र ? बाजुरा भनेपछि बुझिहाल्छु नि ! किन सुदूरपश्चिमको भन्नुपर्यो ?’
लोकसेवा पढ्न बाजुरादेखि काठमाडौं आएका ती युवक १४ दिनदेखि प्रहरी हिरासतमा थिए, न्यायाधीशले थप ३ दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिए । उनले इजलासमा आफू पक्राउ पर्नुको कथा यसरी सुनाए–
जोरपाटी बस्ने उनी साथीको जन्मदिन मनाउन बानेश्वर आएका रहेछन् । घर फर्किंदा ‘अफलाइन पठाओ (राइड सर्भिस) को स्कुटरमा चढेका रहेछन् । केही पर पुगेपछि प्रहरीको टोली अस्थायी पोष्ट खडा गरेर चेकिङमा बसेको रहेछ । प्रहरी देख्नासाथ चालक स्कुटर छाडेर भागेछ, स्कुटरको पछाडि बसेका बाजुराका ती युवक प्रहरी फन्दामा परे ।
न्यायाधीशले प्रहरीलाई सोधे, ‘उसको र पठाओ चालकको सम्पर्क होला, खोज्नु ।’
प्रहरीले जवाफ दिए, ‘अफलाइन पठाओमा चढेको रहेछ, श्रीमान् ।’
न्यायाधीशले आदेश गरे, ‘किन चढ्या अफलाइन पठाओ, अब ३ दिन भित्र बस्ने ।’
म्याद थप्ने काम धमाधम चलिरहँदा न्यायाधीश अधिकारीले आफ्नो ‘भोकल’ स्वभाव जारी राखे ।
कतिबेला चोरीमा पक्राउ परेकाहरुलाई ‘२८७ दफा लागेपछि थाहा हुन्छ’ भन्दै चेतावनी दिन्थे ।
कतिबेला ‘तिमीहरुले यस्तो काम नगरेको भए हुने, तिमीहरु थुनामा जाँदा मेरो मन पनि त रुन्छ नि’ भन्दै सहानुभूति जनाउँथे । एकजना थुनुवालाई हत्कडीसहित इजलासमा प्रवेश गराएपछि न्यायाधीशले प्रहरीको सातो खाए ।
‘यो कोठाभित्र हत्कडी लगाएर ल्याउने हैन भनेर मैले कतिपटक भन्नु’ उनले थपे, ‘यो इजलासभित्र प्रहरी नियन्त्रणमा रहेको मान्छे पनि स्वतन्त्र छ । हत्कडी झुण्ड्याएर ल्याउने हैन ।’
साइबर अपराधमा पक्राउ परेका एक आर्किटेक्टले आफूहरु विवाहेत्तरको सम्बन्धमा रहेको, त्यसक्रममा खिचिएको भिडियो ह्वाट्सएपबाट आदानप्रदान गर्दा आफूविरुद्ध जाहेरी परेको गुनासो गरे ।
न्यायाधीशले प्रतिक्रिया दिए, ‘रंगिला जीवन रहेछ ।’
ती आर्किटेक्टले भने, ‘यो मेरो पेशा अनुसारको काम भएन है, सर ।’
न्यायाधीशले झर्किंदै जवाफ फर्काए, ‘कुनै पनि पेशा अनुसारको काम भएन ।’
****
इजलासमा ल्याइएका थुनुवाहरुलाई केरकार गर्ने, सोध्ने र म्याद थप्ने क्रम चलिरहेको थियो । करिब ३ बजेतिर इजलासमा रहेका केही सञ्चारकर्मीहरुतिर हेर्दै न्यायाधीश अधिकारीले सोधे, ‘तपाईंहरुको के काम थियो ?’
सञ्चारकर्मीहरुले ‘हामी मिडियाकर्मी हौं’ भनेर जवाफ दिए ।
न्यायाधीशले सोधे, ‘तपाईंहरु युट्युबर त हैन नि ? इजलासमा भिडियो खिच्न र रेकर्ड गर्न पाइँदैन । युट्युबर होइन भने बसे हुन्छ । अमर्यादित गतिविधि गरिनुभएन । सुन्न हुन्छ, तर लुकाएर खिच्न र रेकर्ड गर्न भएन ।’
केहीबेरमा कानुन व्यवसायीहरुको भीड बढ्न थाल्यो, प्रहरी सल्बलाए । अनि इजलासमा बसेकाहरुमाथि प्रहरी र कर्मचारीले केरकार गर्न थाले । एक कर्मचारीले इजलासमा बसेर नोट गरिरहेका पत्रकारहरुलाई देखाएर इजलासको ध्यानाकर्षण गरिन् ।
न्यायाधीश अधिकारीले आदेश गरे, ‘यो इजलासमा खिच्न, रेकर्ड गर्न र टिपोट गर्न बस्ने होइन, सुन्न मात्रै बस्नुपर्छ । सुन्न मात्रै बस्ने हो भने बसे हुन्छ, नभए पाइँदैन ।’ उनले रिपोर्टिङका क्रममा नोटकपीमा टिपोट गर्न पनि निषेध गरे ।
त्यत्तिकैमा एक डीएसपीले पूर्व उपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीलाई लिएर इजलासमा आए । त्यसअघि नै एक कर्मचारीले न्यायाधीश नजिकै पुगेर केही सूचना दिएका थिए । थुनुवाहरुको म्याद थप्ने क्रम चलिरहेको थियो ।
रायमाझीलाई पहिलो पंक्तिमा राखेको कुर्सीमा बसाइयो । एकपछि अर्को कानुन व्यवसायीहरु आउँदै उनलाई नमस्कार गरे । एकजना उनको छेवैमा उभिइरहे र उनले सोधेको कुराको जवाफ दिइरहे । अगाडि अरु थुनुवाहरुको म्याद थप्ने क्रम चलिरहेको थियो ।
दुई जना थुनुवालाई पोडियमअघि उभ्याइयो । रायमाझीले ती दुईजनालाई देखाउँदै ती कानुन व्यवसायीलाई सोधे, ‘मलाई पनि त्यहीं लगेर बयान गराउने हुन् ?’
ती कानुन व्यवसायीले जवाफ दिए, ‘अहिले सरकारी वकिलको रोहबरमा उतै बयान हुन्छ, मुद्दा आएपछि बल्ल यहाँ हुने हो । इजलासमा पनि हुनसक्छ, फाँटमा पनि लिन सक्छन् ।’
कुर्सीमा बसुञ्जेल रायमाझीले ती कानुन व्यवसायीसँग सामान्य कुराकानी गरिरहे । तीन दिनअघि अदालत उभ्याइएका बालकृष्ण खाँण झैं थकित थिएनन् । उनले ती कानुन व्यवसायीसँग औषधि र हिरासतकक्षसम्म खाना पुर्याउने बन्दोबस्त गरिदिन आग्रह गरिरहे ।
आफ्नो पालो नआउञ्जेल उनले को न्यायाधीश हुन् ? कति जना न्यायाधीश हुन्छन् ? कसले बयान लिने हो ? भन्नेजस्तो जिज्ञासा राखिरहेका थिए ।
न्यायाधीश केशवप्रसाद अधिकारीले ‘टोपबहादुर रायमाझी’ भनी नाम बोलाए । रायमाझी इजलासको अघिल्तिर कानुन व्यवसायीहरु उभिएर बहस गर्ने पोडियमको छेवैमा खडा भए । न्यायाधीशले सामान्य सोधपुछ गरे ।
अघिल्तिर लहरै बसेका कानुन व्यवसायीहरुलाई ‘तपाईंहरुको केही छ ?’ भनी सोधे । पूर्व महान्यायाधिवक्ता रमेश बडाल लगायतका कानुन व्यवसायीहरु उठे र भने, ‘कानुनी प्रक्रिया अनुसार होस् भन्ने हो, हाम्रो यत्ति हो श्रीमान् ।’ तीन दिनअघि खाँणको म्याद थपमा जस्तो कानुन व्यवसायीहरुले लामो बहस गर्न चाहेनन् ।
त्यसपछि रायमाझीले भने, ‘प्रोस्टेटको बिरामी छु, औषधि लगायत व्यवस्था भए हुने ।’
न्यायाधीशले उनलाई हिरासतमा राख्ने प्रहरी खोजे । छेवैमा उभिएका डीएसपीले भने, ‘उहाँको औषधि लगायतका विषयमा हामीले सबै बन्दोबस्त गरेका छौं, केही समस्या छैन श्रीमान् ।’
न्यायाधीश अधिकारीले भने, ‘म पनि प्रोस्टेटको बिरामी हुँ ।’
उनले रायमाझीतर्फ हेर्दै थपे, ‘यो भनेको उमेरको रोग रहेछ हेर्नुस् । यसले ल्याउने समस्या प्रोस्टेट हुनेलाई मात्रै थाहा हुन्छ ।’
यसमा रायमाझीले केही भन्ने कुरै थिएन । बरु उनै न्यायाधीश अधिकारीले थपेको थप्यै गरे, ‘अरुले यो कुरा बुझ्दैनन् ।’ भन्दै जाँदा उनले प्रोस्टेटका असर र चुनौतीबारे केही बेर आफ्ना अनुभूतिहरु सुनाइराखे । उनले भने, ‘यो मैले पढेर जानेको हैन है । आफ्नै अनुभवका आधारमा भनेको हुँ ।’
पछाडिपट्टि उभिएका केहीले इजलासको ध्यानाकर्षण गरे र भने, ‘उहाँको स्वास्थ्य समस्या पनि छ । घरबाट खानाको व्यवस्था गर्न पाए हुने भन्ने छ ।’
त्यसपछि न्यायाधीश अधिकारीले लामो भूमिका बाँधे र भने, ‘हामीले कसैलाई काखा र कसैलाई पाखा गर्नुभएन । यस्तो अवस्थामा प्रहरीले गर्ने खाना बन्दोबस्तमा विश्वास गर्नुपर्छ । उहाँहरुले जे जस्तो भन्नुहुन्छ, त्यही अनुकूल चल्नुपर्छ । हामीले प्रहरीलाई यसो गराउनू, उसो गराउनू भन्न मिलेन ।’
न्यायाधीशले टुंग्याए, ‘३ दिनको अनुमति भयो ।’
इजलासबाहिर रहेको भीड छिचोलेर रायमाझीलाई अदालत प्रांगणमा झार्न प्रहरीलाई हम्मेहम्मे भयो । रायमाझीलाई बाहिर निकाल्दै गर्दा एक व्यक्ति मूलगेटतिर फर्केर सुते । अनि कराए, ‘सरकार, यो मुलुकमा मान्छे बेच्ने लाइसेन्स चाहियो ।’
बाहिरको होहल्लाबीच प्रहरीले रायमाझीलाई भ्यानमा राख्यो र अदालत परिसर बाहिर निकाल्यो ।
प्रतिक्रिया 4