
१ जेठ, काठमाडौं । जारी सिजनमा सगरमाथा आरोहणका लागि ‘रोप फिक्सिङ’ को काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार ३० वैशाखका दिन अपरान्ह १ बजेर ५२ मिनेटको समयमा डोरी टाँग्ने टोली सगरमाथाको चुचुरोमा पुगेको हो । यससँगै अब सगरमाथा आरोहीहरुका लागि चुचुरोसम्म पुग्ने बाटो समेत खुला भएको छ ।
विभागका अनुसार यस वर्ष ‘रोप फिक्सिङ’को जिम्मेवारी पर्वतारोहण सञ्चालक संघले पाएको थियो । विभागले अघिल्लो साता सगरमाथाको आधार शिविरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सो कार्यालयले यस सिजनमा सगरमाथा आरोहणको अनुगमन तथा सहजीकरणको काम गर्ने छ ।
‘रोप फिक्सिङ’ गर्ने टोलीको नेतृत्व यस पटक दावा ग्याल्जे शेर्पाले गरेका हुन् । टीममा ङिमा नुरु शेर्पा, लाक्पा शेर्पा, दिपेन गुरुङ, पासाङ ङिमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर गेल्जेन शेर्पा, दा जाङबु शेर्पा र सुमन गुरुङ रहेका थिए ।
यो टोलीले १० वैशाखमै सगरमाथाको चौथो शिविरसम्म बाटो खोलिसकेको थियो । तर, हिमाली क्षेत्रमा लामो समयसम्म चर्को हावा चल्ने र खराब मौसमका कारण सगरमाथाको चुचुरोसम्म बाटो बनाउने काम ढिला हुन पुगेको विभागले जनाएको छ ।
प्रतिक्रिया 4