+
+
ब्लग :

के छ नेपाल-चीन सम्बन्धको हालखबर 

संसारका प्रायः सबै देशमा एउटा प्वाइन्ट अफ इन्ट्रीबाट प्रवेश गरेपछि बाँकी ठाउँमा अध्यागमनको औपचारिकता पूरा गर्नुपर्दैन। युरोपमा त झन् एउटा देशको भिसा भएपछि अरू धेरै देशमा बेरोकतोक प्रवेश गर्न पाइन्छ । तर बेइजिङमा त्यसको विपरीत नियम रहेछ ।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० जेठ २ गते १४:०६
माओत्सेतुङ र राजा वीरेन्द्रको तस्वीर

हाम्रो सिमाना भारतसँग जोडिएको मात्रै छैन, खुला पनि छ । बोर्डरमा बसोबास गर्नेहरू कुनै कुनै ठाउँमा आफू नेपाली हो कि भारतीय भन्ने पनि अलमल हुने अवस्थामा छन् । त्यस्तै, सीमा उत्तरतर्फ चीनसँग पनि जोडिएको छ ।

प्राकृतिक रूपमा हिमालयको पर्खाल त छँदैछ, केही सीमित भन्ज्याङहरूबाट हुने आवतजावत पनि अत्यन्त नियन्त्रित छ। अतः भारत हामी जुनसुकै तहका नेपालीका लागि पनि एउटा खुला किताब जस्तै छ, तर चीन भने बन्द तथा कतिपय सन्दर्भमा रहस्यले भरिपूर्ण।

२०७२ सालको भूकम्प नआउन्जेलसम्म खासा बजारसम्म नेपालीलाई चिनियाँ सामान किन्न जान पाइन्थ्यो। त्यो बजारमा सामान बेच्ने चिनियाँ नेपाली बोल्न जान्दैनथे र उनीहरूले सामानको मोल क्याल्कुलेटरमा थिचेर बताउँथे । अनि किन्ने ग्राहकले पनि क्याल्कुलेटरमै थिचेर मोलमोलाइ गर्थे । तर भूकम्पपछि सो बजार पनि बन्द भयो र सीमावर्ती क्षेत्रमा बस्ने नेपालीलाई बाहेक अन्यलाई त फेरि रहस्यकै देश बन्यो चीन ।

यता, भारतको हेपाहा प्रवृत्तिबाट सबै नेपाली परिचित छौं, चाहे त्यो जनस्तरमा होस् वा राजनैतिक रूपमा । उनीहरूले आफूलाई सधैं ‘बडेभाइ’ नै सम्झिन्छन् । नेपाल-भारत सम्बन्धको सबैभन्दा विकृत रूप त हामीले २०७२ सालको नाकाबन्दीमा व्यहोर्‍यौं ।

त्यो वर्ष हामी भूकम्पले थिलथिलो भएका थियौं, तर संविधान जारी गर्ने क्रममा उसको कुरा सुनुवाइ भएन भनेर करीब ९ महिनाको नाकाबन्दी सहनु पर्‍यो । त्यतिबेला चीनले हामीलाई केही ट्यांकर मात्रै भए पनि पेट्रोलको सहयोग गर्‍यो। त्यसले हामीलाई मरुभूमिमा हिंड्दा भेटिएको पानी जस्तो अमृतको अनुभूति दिलायो । हामी आम नेपालीलाई लाग्यो-चीन हाम्रो साँच्चिकै दुःखको साथी हो ।

हिरा विश्वकर्मा

जुन बेला वुहानबाट कोरोनाको महामारी चीनभरि फैलियो, त्यतिबेला ऊ पनि आक्रान्त देखियो किनभने कुनै उपचार नभएको सो महामारीसँग जुध्न तथा प्रतिकार गर्न ऊ पनि तयार थिएन। चीन जस्तो संसारको दोस्रो ठूलो अर्थतन्त्र तथा विशाल देश, महामारीबाट त्यसरी आक्रान्त भएकै थियो ।

त्यस्तो बेला एउटा छिमेकीले प्रस्तुत गर्ने सामान्य ढाडसले पनि धेरै राहत महसुस गर्ने रहेछ । यो कुरा काठमाडौंमा आयोजित एउटा कार्यक्रममा तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेपालीले देखाएको सद्भावप्रति आँसु नै झारेर आभार व्यक्त गरेको दृश्यले पुष्टि गर्छ ।

त्यत्रो विशाल देशले नेपालले प्रदान गरेको करीब २ लाख मास्क पनि ग्रहण गरेको थियो । अतः यी सबै हेर्दा चीन पनि हाम्रो अत्यन्त घनिष्ठ मित्र मात्रै होइन, सुख-दुःखको साथी हो भन्ने लाग्दछ । यो त भयो केही पृष्ठभूमि । तर, यहाँ भने म चीनको करिब एकहप्ते यात्राको अनुभव र अनुभूतिको चर्चा गर्दैछु ।

हामी ल्हासा, छेन्दु र बेइजिङ हुँदै मंगोलियाको यात्रामा थियौं । मंगोलियाको अन्तर्राष्ट्रिय उडान कि त सिउल कि बेइजिङबाट रहेछ । हामीले बेइजिङको रुट रोज्यौं ।

हाम्रो पहिलो चीन प्रवेशको विन्दु ल्हासा एयरपोर्ट थियो। त्यहाँ अध्यागमनका सबै औपचारिकता पूरा गरेर छेन्दुको कनेक्टिङ फ्लाइट लियौं, जहाँ हाम्रो राहदानीमा चीन प्रवेशको छाप लागेको थियो ।

छेन्दुको ट्रान्जिट पछि हामी रातको १० बजे बेइजिङ पुग्यौं । संसारका प्रायः सबै देशमा एउटा प्वाइन्ट अफ इन्ट्रीबाट प्रवेश गरेपछि बाँकी ठाउँमा अध्यागमनको औपचारिकता पूरा गर्नुपर्दैन । युरोपमा त झन् एउटा देशको भिसा भएपछि अरू धेरै देशमा बेरोकतोक प्रवेश गर्न पाइन्छ । तर बेइजिङमा त्यसको विपरीत नियम रहेछ । हामी डोमेस्टिक फ्लाइटबाट आएको भए तापनि अध्यागमनबाटै बाहिर निस्कनु पर्‍यो ।

हामी दश जनाको समूहमा थियौं । हाम्रो अगाडि एक भारतीय जोडी थियो । उनीहरूलाई खास कुनै चेकजाँच नगरिकन अध्यागमनबाट बाहिर पठाइयो । हाम्रो राहदानी हेर्ने अल्लारे चिनियाँ ठिटो थिए ।

उनलाई खै के कुरामा शंका लाग्यो । भित्र गए र निकै बेरपछि उनीभन्दा वरिष्ठ तथा उमेरले पाको देखिने चिनियाँ अधिकृत आए । हामीसँग सोधपुछ त गरेनन्, तर सबैलाई पालैपालो हेरेपछि मात्र हाम्रो राहदानीमा पुनः छाप लगाएर बाहिर पठाइयो ।

अध्यागमनमा कहिलेकाहीं यस्तो हुनुलाई सामान्य रूपमा लिइन्छ । हाम्रो सन्दर्भमा पनि सामान्य होला भन्ने लागेको थियो, तर मंगोलियाबाट फर्किने क्रममा पनि सोही प्रक्रिया दोहोरियो । बेइजिङ अध्यागमनमा बस्ने चिनियाँ अधिकृतलाई नेपाल बारे खासै जानकारी वा चासो नभएको हो कि भन्ने लाग्यो ।

हामी छेन्दुबाट ल्हासा विमानस्थल पुगेका थियौं । हामीले बेइजिङको अध्यागमन क्लियर गरिसकेका थियौं तर पनि तिब्बतको अध्यागमन पनि क्लियर गर्नुपर्ने थियो । हामी सामान्य हरियो राहदानी धारण गरेका व्यक्तिहरू भएकोले हामीलाई कुनै विशिष्ट व्यवहार गर्ने कुरा भएन ।

हामीभन्दा अगाडि एकजना नेपाली कुनै सरकारी कर्मचारीले नीलो राहदानी बोकेका थिए, उनी पनि हामी जस्तै सामान्य रूपमा अगाडि बढिरहेका थिए ।

पछि त्यहाँ ड्युटीमा रहेकी महिला अधिकृतलाई के लागेछ, ‘तिमी यताबाट जाउ’ भन्ने संकेत गरेर संभवतः विशिष्ट व्यक्तिहरू हिंड्ने बाटोतिर पठाइन् । यी दुइटा घटना हेर्दा सामान्य लाग्छ । तर चीनका सरकारी अधिकारीहरूले नेपालीलाई कस्तो व्यवहार गर्दा रहेछन् भन्ने प्रतिनिधि घटनाको रूपमा लिन सकिन्छ ।

बेइजिङ बसाइको दौरानमा तत्कालीन चीनका लागि नेपाली राजदूत टंक कार्कीसँग नेपाल–चीन सम्बन्धको बारेमा निकै लामो अर्थात् करिब दुई घण्टा छलफल भयो । उनले खासगरी चाउएन लाईको पालामा नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्व दिने प्रसंग स्मरण गराए । राजदूतावासले नेपाल दिवसको सन्दर्भमा आयोजना गर्ने कार्यक्रममा एकपटक त स्वयं चाउएन लाई नै आएका थिए । तर पछि त्यस्तो हुन छोड्यो ।

अहिले त ठूला नेता त परको कुरा वरिष्ठ अधिकारीलाई भेट्न पनि निकै गाह्रो रहेछ । हामीले चिनियाँ पर्यटक तथा लगानी नेपाल भित्र्याउन नेपाली दूतावासले के प्रयास गरिरहेको छ भनेर बुझ्न चाह्यौं । उनले नेपालमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरू उत्साहित नै भेटिए पनि नेपालको संरचना त्यति लगानीमैत्री नरहेको गुनासो गरे।

त्यस्तै चीनमा उल्लेख्य संख्यामा बुद्ध धर्मावलम्बी छन् । चिनियाँ पर्यटकहरू नेपाल भित्र्याउन चिनियाँ पाठ्यक्रममा बुद्ध नेपालमा जन्मिएको बारे सामग्री समावेश गर्न सक्दा बहुसंख्यक बुद्ध धर्मावलम्बी जनता नेपाल आउँथे । यसका लागि नेपाल सरकारले औपचारिक मञ्चहरूमा उच्च तहबाट सो कुरा राख्नुपर्ने हो । तर नेपाली कर्मचारीतन्त्र त्यसमा उदासीन रहेकोले सोचेजस्तो नभएको उनको गुनासो थियो ।

अहिले कार्की नेपालमै छन् । उनीसँग मेरो लामो फोन वार्ता भएको थियो र मैले उनीसँग धेरै पहिले राजदूतावास भित्रै भएको संवादलाई स्मरण गराएँ । उनले चिनियाँ पाठ्यपुस्तकमा बुद्ध नेपालमा जन्मेका हुन् भनेर राख्ने प्रयास उच्च तहमै पटक–पटक भएको र पछिल्लो प्रगतिबारे थाहा नभएको बताए ।

हालै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले आफ्नो ओहोदाको प्रमाणपत्र बेइजिङ पुगेको ८ महिनापछि मात्र राष्ट्रपतिसमक्ष बुझाए भन्ने समाचार आएको थियो । यसबाट चीनले हामीलाई दिएको प्राथमिकता थाहा हुन्छ । अरू देशका राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र नेपाल आएपछि तुरुन्तै बुझाउँछन् ।

विशाल देशका शक्तिशाली नेताको रूपमा आफूलाई उभ्याइरहेका सी जीन पिङको समय नमिलेर नेपाली राजदूतलाई प्रमाणपत्र पेश गर्न ८ महिना लागेको हो कि ? नेपालसँगको सम्बन्धलाई नै गम्भीरतापूर्वक नलिएर त्यसो भएको हो भने देशकै लागि सोचनीय विषय बन्नुपर्छ ।

अहिले नेपालको जलविद्युत्मा भारतीय लगानी मात्रै भित्र्याउने कुरा बाहिर आएको छ । चिनियाँ लगानीलाई हतोत्साही गर्ने पनि छिटफुट समाचार आएका छन् । यसले हामी भूराजनीतिको चपेटामा परेका त होइनौं भन्ने शंका उब्जाएको छ । स्याल कराउनु र कुखुरा हराउनु एकैचोटि भएको हो कि अन्यथा, यसमा हामीले सोच्नु जरूरी छ ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?