+
+

बिरामीको मृत्युपछि ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड, १० लाखमा सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १४:५३

२ जेठ, काठमाडौं । बिरामीको मृत्युको विषयलाई लिएर आफन्तले फार्मेसी तोडफोड गरेपछि बसुन्धरास्थित ग्रिन सिटी अस्पतालले उपचार शुल्क मिनाहा र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

फोक्सोमा पानी जमेका कारण उपचारका लागि गत आइतबार गोरखाका ६२ वर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो मृत्यु भएको थियो । तर, मृतकका आफन्तले भने म्याद सकिएको औषधिका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

‘हिजो दिँउसो अस्पतालले मृत्यु भएको जानकारी दियो । हामीले बाँकी रहेको औषधि फिर्ता गर्न फार्मेसीमा जाँदा म्याद सकिएको भन्दै फिर्ता लिन मानेन’, मृतकका आफन्त अञ्जन पेनरूले भने, ‘यसरी कसैको ज्यानमाथि खेलबाड गर्न पाइन्छ ?’

आफन्तले भने अस्पतालको फार्मेसीले दिएको म्याद सकिएको औषधिकै कारण मृत्यु भएको भन्दै साँझ पाँच बजेतिर फार्मेसी तोडफोड गरेका थिए ।

फार्मेसीमा तोडफोड हुन थालेपछि नजिकै रहेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । हाल प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा फार्मेसीमा कार्यरत एक जनालाई नियन्त्रणमा लिएको छ । तोडफोडपछि अहिले अस्पतालको फार्मेसी बन्द गरिएको छ ।

सोमबार बेलुका नै अस्पताल प्रशासन र मृतकका आफन्तबीच सम्झौता भएपछि भट्टको अन्तिम संस्कार पनि भइसकेको छ । मृतकका आफन्त पनेरूका अनुसार उपचारमा गर्दा लागेको साढे दुई लाख रुपैयाँ र थप १० लाख क्षर्तिपूर्तिसहित सम्झौता भएको छ ।

अस्पताल प्रशासनले भने मृतकलाई दिएको औषधिमा समस्या नदेखिएको जिकिर गरेको छ । ‘मृतकलाई दिएको औषधिमा कुनै समस्या देखिएको छैन ।

आईसीयूमा भएका बिरामीलाई संवेदशील रुपमा हेरिन्छ । तर, फार्मेसीमा फिर्ता गरिएको औषधिमा भने म्याद सकिएको भेटियो’, अस्पताल व्यवस्थापक मनिष दवाडीले भने, ‘औषधि व्यवस्था विभागले पनि अनुगमन गरेको छ । पछि, केही निष्कर्ष आउँला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?