
३ जेठ, स्याङ्जा । कसैले चकटी, ढकिया, झोला, चप्पल र विभिन्न हस्तकलाका चिटिक्क परेका सामग्री बुनिरहेका छन् । कसैले डोरी बाटिरहेका छन् त कसैले डोरी बाट्ने फाइबर केलाइरहेका । कसैले केराका थाम, पात र डाँठ मिलाइरहेका छन् । महिला तथा किसानहरु आफ्नै हातबाट गाउँमै चिटिक्कका हस्तकलामा सामग्री बन्दा दंग छन् ।
यो दृष्य हो, स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घाको । कालीगण्डकी गाउँपालिकाले पालिकाभरिका किसानबाट छनोट गरेर ३५ जनालाई यतिबेला केराका खेर जाने भागको प्रयोग गरेर उद्यम सिकाइरहेको छ । केराको बहुउपयोगी कार्यक्रम नेपालमै पहिलो भएको कालीगण्डकीको दाबी छ ।
कुरोको बुगोबाट अचारको स्वादमात्र लिएका उनीहरुले केराको फल काटेपछि खेर जाने थाम र पातबाट हस्तकलाका सामग्री पनि बन्छ भन्ने कल्पनै गरेका थिएनन् । उनीहरुले केराका बहुउपयोगितामात्रै जानकारी पाएनन्, आफ्नै हातले थरिथरीका सामग्री बनाउँदा नौलो महसुस गरिरहेका छन् ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण लामिछानेका अनुसार केराको थामको भित्री भागबाट जुस पनि बनाउन सकिन्छ भन्ने थाहा पाउँदा धेरै किसान दंग छन् ।
अहिले कालीगण्डकी गाउँपालिकाले केरा, डाँठ र थामबाट बन्ने हस्तकलाका सामग्रीदेखि पातको टपरी र थामको भित्री भागको जुस बनाउने उद्यम गाउँवासीलाई सिकाइरहेको छ । केरा उत्पादन हुने ठाउँको पहिचान गरी किसानका मागअनुसार गाउँपालिकाले २० हजार बेर्ना वितरण गरेको छ भने केराको बहुउपयोगिताको उद्यमसँग जोडिरहेको छ ।
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको नवप्रवर्तन कार्यक्रम साझेदारी कोषमार्फत खेती बिस्तार तथा केराको सबै भागको बहुउपयोग गर्ने गरी २ करोड रुपैयाँ बजेट छुट्याएर कार्यान्वयन गरिरहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
कालीगण्डकी गाउँपालिकामा अहिले करिब ३० हजार केराका बिरुवा छन् । अहिले २० हजार बिरुवा गाउँपालिका आफैंले बाँडेको छ । केरा खेतीबाट हातहातै पैसा कमाउनेदेखि खेर जाने भनिएको भागबाट हस्तकलाका सामग्री बनाएर गाउँमै स्वरोजगार बनाउने अभियान गाउँपालिकाले थालेको हो ।
गण्डकी प्रदेश सरकारले गएको वर्षदेखि नवप्रवर्तन कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले आकर्षक कार्यक्रम बनाएर रकम माग गर्ने गाउँपालिका छनोट गरेर अनुदान दिन आह्वान गरेको थियो । कालीगण्डकी गाउँपालिकाले केरा खेतीको सम्भावना, यसबाट किसानले दिन सक्ने फाइदासहितको अध्ययन गरेर माग गरेपछि सरकारसँगको साझेदारीमा कार्यक्रम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए ।
किसानलाई उद्यमसँग जोडेर केराका थाम, पातबाट फाइबर निकालेर हस्तकलाका सामग्री बनाउने, भित्री भागबाट जुस बनाएर विक्री गर्न बजारको व्यवस्थापन पनि पालिकाले नै गरिदिने पाण्डेयको भनाइ छ । फल बेचिसकेपछि पनि केराका यसअघि खेर जाने भाग पालिकाले नै खरिद गर्ने योजना रहेको उनले बताए ।
पालिकाले फाइबर प्रशोधन, कपडा बुन्ने र टपरी बनाउने मेसिन पनि खरिद गरिसकेको छ । दोस्रो चरणमा यसको प्रयोगको तालिम दिने र यो कार्यक्रममा सहभागी किसान थप्दै जाने योजना गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले सुनाए ।
वैशाख २५ गतेबाट अहिले १५ दिने केराको बहुउपयोगी तालिम चलिरहेको छ । हस्तकला महासंघले प्राविधिक सहयोग गरेको छ । केराको पातबाट प्रविधिमार्फत बलियो टपरी बनाउने र प्लास्टिकका प्लेटको बिस्थापित गर्दै जाने नीति लिइएको कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए । यही कार्यक्रमका लागि ३ जना कृषि जेटिए र एक जना कृषि स्नातक पालिकाले नियुक्त गरेको छ ।
ठूला–ठूला उद्योग खोल्न सम्भव नभए पनि साना–साना उद्यममार्फत किसानको जीवनस्तर उकास्ने खालको काम थालिएको गाउँपालिका अध्यक्ष खिमबहादुरको दाबी छ ।
प्रतिक्रिया 4