
४ जेठ, काठमाडौं । काभ्रेमा बुद्धका मूर्ति, नगदसहित केही जिन्सी सामग्री चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
बनेपा नगरपलिका-६ स्थित हरी चन्द्र पोखरेलको ‘हाई भ्यु रिसोर्ट होटल’मा रातको समयमा झ्याल फोडेर चोरी गरेको आरोपमा प्रहरीले २२ वर्षीय अमृत तामाङलाई पक्राउ गरेको हो ।
घटना यही जेठ १ गते राति भएको थियो । निवेदकले दिएको हुलियाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले २ गते राति ११ बजे धुलिखेल नगरपालिका-३ बाट तामाङलाई पक्राउ गरेको हो ।
होटल सञ्चालकका अनुसार यूएसए, यूरो, भियतनाम देशका विदेशी मुद्रा ५०००, भारतीय रुपैयाँ २० हजार, नेपाली नगद ५० हजार, विभिन्न साइजका बुद्धका मूर्तिहरु, दुई /दुई थान ल्याप्टप र आईप्याडलगायत सामान चोरी भएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तामाङसहित अन्य दुई जना पनि चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
तामाङको बयानका आधारमा चोरी भएको सामान प्रहरीले बनेपा-६ स्थित जंगलमा लुकाएको अवस्थामा बरामद गरेको छ ।
प्रहरीले पाल्देन लामाको मूर्ति थान-२, गुरु रेम्बोच्छेको मुर्ति थान-३, हरियो तारा भएको मूर्ति थान-१, मेडिसिन बुद्धको मूर्ति थान-१, सेतो ताराको मूर्ति थान-१, सरस्वतीको मूर्ति थान-१, लोकेश्वरको मूर्ति थान-१, लाफिङ्ग बुद्धको मूर्ति थान-१, तामाको पाताबाट बनेको माला तथा मालाका सामानहरु राख्ने सानो बाकस थान-१, विभिन्न किसिमका माला तथा माला बनाउन प्रयोग हुने सामानहरु बरामद गरेको छ ।
पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ को म्याद थप गराई अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया 4