
४ जेठ, काठमाडौं । कर्नाटकको मुख्यमन्त्रीमा सिद्धरामैयाको नाम तय भएको छ । यसअघि मुख्यमन्त्री बन्ने चर्चामा रहेका डीके शिवकुमार भने उपमुख्यमन्त्री बन्ने भएका छन् ।
यसअघि पनि कर्नाटकको जिम्मेवारी सम्हालिसकेका सिद्धरामैयालाई कांग्रेसले विश्वास गरेको छ । शपथ ग्रहण समारोह यही मे २० मा बैंगलोरमा हुनेछ ।
प्रदेशको मुख्यमन्त्रीको विषयलाई लिएर कांग्रेसमा विवाद रहँदै आएको छ । कांग्रेसको पछिल्लो निर्णयबाट डीके शिवकुमारका भाइ डीके सुरेश असन्तुष्ट देखिएका छन् ।
सांसदसमेत रहेके उनले भने, ‘म पूर्णतया खुसी छैन, तर कर्नाटकको हितमा हामीले हाम्रो प्रतिबद्धता पूरा गर्न चाहन्थ्यौं, त्यसैले डीके शिवकुमारले स्वीकार गर्नुपर्यो । भविष्यको बाटो लामो छ, हामी पर्खने र हेर्नेछौं ।’

सिद्धरामैयाका समर्थकहरूले खुसीयाली मनाउन थालेका छन् । बैंगलोरस्थित उनको घरबाहिर पोस्टर टाँसिएको छ ।
यससँगै सिद्धरामैया र डीके शिवकुमारको घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कर्नाटकमा विधानसभाको चुनावी परिणाम शनिबार सार्वजनिक भएसँगै कांग्रेसमा भावी मुख्यमन्त्रीका लागि विवाद सुरु भएको थियो ।
कांग्रेस नेतृत्वले सिद्धारमैयालाई मुख्यमन्त्री बनाउन चाहे पनि शिवकुमारले पनि आफ्नो दाबी प्रस्तुत गरेका थिए ।
पार्टीले दिएको उपमुख्यमन्त्री र प्रदेशको पार्टी अध्यक्ष बन्ने प्रस्तावलाई शिवकुमारले अस्वीकार गर्दै आएका थिए । यसबीचमा सिद्धारमैयालाई दुई वर्ष र बाँकी तीन वर्ष शिवकुमारलाई मुख्यमन्त्री बनाउने प्रस्ताव भने दुवै नेताले अस्वीकार गरेका छन् ।
प्रतिक्रिया 4