
काठमाडौं । नेपालसँग फिल्म निर्माणमा संयुक्त लगानीका लागि सहकार्य गर्न सिक्किम फिल्म प्रवर्द्धन बोर्डले कान्स फिल्म फेस्टिभलमा पुगेको भारतीय डेलिगेसन टोलीलाई प्रस्ताव राखेको छ । फेस्टिभलको इण्डियन पेभेलियनमा आयोजित कार्यक्रममा बोर्ड अध्यक्ष पूजा शर्माले डेलिगेसनको नेतृत्व गरेका भारतको सूचना तथा प्रसारण तथा मत्स्यपालन, पशुपालन, डेरी राज्यमन्त्री डा. एल. मुरुगनसहितलाई उक्त प्रस्ताव गरेको जानकारी दिइन् ।
‘कान्स पुगेर राज्यमन्त्रीज्यूलाई ज्वाइन्ट भेन्चरका लागि नेपालको प्रस्ताव पनि राखेकी छु,’ कान्स फेस्टिभल थलो फ्रान्सको रिभेरिया सहरबाट अध्यक्ष शर्माले अनलाइनखबरसँग भनिन्, ‘उहाँहरु नेपालसँग सहमति गर्न सकारात्मक हुनुहुन्छ । नेपाल सरकारको तर्फबाट यस्तो प्रस्ताव आयो भने हामी सकारात्मक छौं ।’
नेपालको चलचित्र विकास बोर्डले सिक्किम फिल्म प्रवद्र्धन बोर्डको माध्यममार्फत संयुक्त लगानीका लागि प्रस्ताव गर्न सक्ने उपायबारे पनि आफूले राज्यमन्त्रीसहित कान्स पुगेका इन्भेष्ट इण्डियाका प्रतिनिधि राजकुमार विजयनलाई पनि आग्रह गरेको अध्यक्ष शर्माले बताइन् । ‘गत वर्षको कान्समा भारतले १६ मुलुकसँग संयुक्त लगानीका लागि सहमति गरिसकेको छ । नेपाल १७ औं बन्न सक्छ भन्ने लागेर प्रस्ताव राखेकी हुँ,’ उनले भनिन्, ‘प्रशस्तै सिक्किमका फिल्महरु नेपालमा छायांकन हुन्छन् भनेर मैले यो सम्भावना प्रस्तुत गरेकी हुँ ।’
सिक्किम सरकारले यसअघि नै विदेशी फिल्मलाई आफ्नो राज्यमा छायांकन गर्न प्रोत्साहन शुल्क दिने घोषणा गरिसकेको छ । यदि भारत सरकारले ज्वाइन्ट भेन्चरका लागि छनोट गरेको खण्डमा केन्द्र र सिक्किम राज्य दुवैतर्फबाट साढे तीन करोड भारुभन्दा बढी रकम फिल्मले प्राप्त गर्न सक्ने उनले बताइन् । कान्सको पहिलो दिन आयोजित प्यानल डिस्कसनमा अध्यक्ष शर्माले सिक्किमलाई अन्तर्राष्ट्रिय फिल्म छायांकन थलोको रुपमा विकास गर्ने योजना प्रस्तुत गरिन् ।
कान्सको तेस्रो दिन शुक्रबार छायांकनका लागि अन्य लोकेसनबाट उनले प्यानल डिस्कसन चलाउँदैछिन् । उनीसँगै सिक्किमबाट फिल्म निर्देशक साम्तेन भुटिया पनि कान्समा पुगेका छन् । भारत सरकारले यस वर्षको कान्समा १६ राज्यका प्रतिनिधि, मन्त्री, व्यवसायी र कलाकारसहितको टोलीलाई पठाएको छ । कलाकारहरु साराखली खान, इशा गुप्ता, मानुषी छिल्लर, विजय बर्मा, मणिपुरका अभिनेता कंगाबाम तोम्बालाई कान्स पुगेका छन् ।
प्रतिक्रिया 4