
४ जेठ, काठमाडौं । गत १६ चैतमा राष्ट्रपति रामचन्द्र पौडेल पशुपति क्षेत्र वनकालीको महत्वलाई नै ओझेलमा पार्ने गरी बनेको आधुनिक पार्कमा पुगे । राधा माधव समिति नेपालले निर्माण र व्यवस्थापन गरेको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गर्दै उनले भनेका थिए, ‘पशुपतिमा पूजाआजा र दर्शन सकेपछि केही समय विश्रामका लागि यस्ता धेरै उद्यान र प्रतीक्षालयको विकास र संरक्षण गर्न जरुरी छ ।’
गत शनिबार पशुपति दर्शनपछि शीतल खोज्दै त्यही उद्यान छिर्न खोजेकी बाराकी रामकुमारी यादव र उनको परिवारका सदस्यलाई राधा माधव समिति (राधे–राधे) का कर्मचारीले गेटमै रोके र भने–टिकट काट्नुस् अनि मात्रै जान पाइन्छ । टिकट काट्न काउन्टरमा पुगेर केही संवाद गरेपछि रामकुमारी फरक्कै फर्किइन् । ‘हामी सबै ११ जना छिर्दा त ५५० रुपैयाँ तिर्नुपर्ने रहेछ’ उनले भनिन्, ‘पशुपतिभित्रै बस्नै पनि टिकट लिनुपर्ने रहेछ ।’
रामकुमारीलाई जस्तै धेरै भक्तजनका लागि पशुपतिको ‘वनकाली’ उद्यान ‘आकाशको फल’ भएको छ । पशुपति क्षेत्रको वन क्षेत्र ओगटेर करिब ९० रोपनीमा बनेको विश्रामका लागि पार्कभित्र प्रवेश गर्न नै तीर्थालुले प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । विदेशी नागरिकले १०० रुपैयाँ नतिरे प्रवेश पाउँदैनन् ।
गत १ वैशाखदेखि खुला भएको उद्यान अहिले सोमबार, बुधबार, शुक्रबार र शनिबार बिहान १० बजेदेखि ५ बजेसम्म मात्रै खुला हुन्छ । अन्य समयमा बन्द हुने पार्क खुलेका बेला छिरे बापत असुलिने शुल्क राधा माधव समिति र पशुपति क्षेत्र विकास कोषले भाग लगाएर लिन्छन् ।
टिकटबापतको ६० प्रतिशत राधा माधव समितिले पाउँदै आएको छ भने ४० प्रतिशत रकम कोषले नै राखिरहेको छ ।
राधा माधव समितिका सदस्य राजेन्द्र सिग्देल पार्कको सञ्चालन व्यवस्थापनका लागि कोषले पार्कमा आउने भक्तजनबाट उठाइने पैसाको ६० प्रतिशत आफूहरुले पाउने गरी पशुपति क्षेत्र विकास कोषले नै निर्णय गरेर दिएको बताउँछन् । ‘पार्कको सञ्चालन व्यवस्थापनको लागि लाग्ने खर्च भक्तजनबाटै उठाउँछौं’ उनी भन्छन्, ‘अझै यो शुल्कले खर्च धानेको छैन, यदि अहिलेको प्रवेश शुल्क महँगो भयो भन्ने महसुस भयो भने त कोषले नै पुनर्विचार गर्ला ।’
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी ५० रुपैयाँ शुल्क महँगो नभएको तर्क गर्छन् । ‘महँगो सस्तो भन्ने कुरा तुलना केसँग गर्ने भन्नेमा निर्भर हुन्छ’ प्रवक्त अधिकारीले भने, ‘बजारमा कतै ५० रुपैयाँमा पनि कफी आउँछ, ५०० रुपैयाँ पनि पर्छ । त्यस्तै हो, आध्यात्म बुझेका व्यक्तिहरुलाई वनकाली उद्यानभित्र छिर्न ५० रुपैयाँ तिर्नु महँगो लाग्दैन ।’
यो पार्क राधा माधव समितिले आध्यात्मिक तवरले बनाएको भन्दै उनले अध्यात्म बुझेका भक्तजनलाई यो पार्कमा प्रवेश गर्न ५० रुपैयाँ तिर्नु ठूलो कुरा नै नभएको बताए । सबैलाई ५० रुपैयाँ तिर्न पनि समस्या हुनसक्ने स्वीकार्दै अधिकारीले वनकाली पार्कको विकल्प त्यस्ता भक्तजन आफैंले खोज्ने बताए ।
‘हामीले नै पार्क व्यवस्थापन गरे पनि कसै न कसैलाई जिम्मा दिनुपर्छ’ प्रवक्ता अधिकारीले भने, ‘त्यसैले राधा माधव समितिलाई नै प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिएर कोषको खातामा रकम जम्मा गर्ने र त्यसको ६० प्रतिशत रकम समितिलाई पार्क सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्न दिने निर्णय भएको हो ।’

यदि कोषले यो पार्क सञ्चालन व्यावसायिक हिसाबले नै सञ्चालन गर्ने हो भने सार्वजनिक खरिद प्रक्रियाअनुसार टेन्डर गरेर सञ्चालनकर्ता कम्पनी छनोट गर्नुपर्थ्यो । तर, मिलेमतोमा सोझै राधा माधव समितिलाई पार्क चलाउने र पैसा उठाउने जिम्मा दिएर कोषले खरिद प्रक्रियाको पनि खिल्ली उडाएको छ ।
सुरुदेखि नै विवाद
वनकाली उद्यान निर्माण थाल्दाको समयदेखि नै विवादमा थियो । पुरातात्विक क्षेत्रभित्र नयाँ स्वरुपको पार्क बनाउँदा विश्वसम्पदा क्षेत्र पशुपति खतराको सूचीमा पर्न सक्ने कारण बन्न सक्ने भन्दै विरोध भएको थियो ।
वनकाली पशुपति मन्दिर नजिकैको धार्मिक वन क्षेत्र हो । किंवदन्ती अनुसार दिउँसै अँध्यारो हुने घना जंगल हो, यो । तर, त्यहाँ नै पशुपति क्षेत्र विकास कोषले धार्मिक वनको अस्तित्वमै असर पर्ने गरी उद्यानको विकास गर्न अनुमति दिएको थियो ।

निर्माण सुरु भएपछि वनकालीबाट पार्क नै हटाउनुपर्ने माग सम्पदा अभियन्ताहरुले गरेका थिए । वनकालीको महत्व जोगाउन ध्यानाकर्षण जनाउँदै पुरातत्व विभागले पटक–पटक पशुपति क्षेत्र विकास कोषलाई पत्र पठाएको थियो । विश्वसम्पदा क्षेत्रको अमूर्त सम्पदामाथि अतिक्रमण गरी बनेको पार्कको बारेमा युनेस्कोले समेत चासो दिएको थियो ।
विभिन्न धार्मिक महत्व बोकेको वनकालीमा आधुनिक पार्क निर्माण गर्दा यसले मूर्त सम्पदामा त्यति ठूलो असर नपारे पनि अमूर्त सम्पदालाई भने ठूलो क्षति पुर्याएको सम्पदाविद्हरूले बताउँदै आएका छन् । तर, पार्कमा भक्तजनले विश्राम गर्न पाउने भन्दै कोषले उद्यानबारेको विवाद थामथुम पारेको थियो । त्यतिबेला राधा माधव समितिले पार्क बनाएर कोषलाई हस्तान्तरण गरिहाल्ने र पार्कको व्यवस्थापनमा कोषलाई सहयोग गर्ने वचन पनि दिएको थियो ।
विवादकै बीच बनेको वनकाली उद्यानलाई यसअघि राधा माधव समितिले धार्मिक गुरु कृपालुजी महाराजको नाममा ‘कृपालुजी उद्यान’को रुपमा नामकरण गरेको थियो । वनकालीको अस्तित्व नै मेटिने गरी कृपालुजी उद्यानका रुपमा बोर्डहरु राखिएपछि सम्पदा अभियन्ताहरुले त्यसकाे चर्को विरोध गरेका थिए । यसपछि उद्यानको नाम ‘कृपालुजी’ हटाएर ‘वनकाली’ राखिएको थियो । त्यसपछि सो उद्यानलाई लामो समय बन्द राखिएको थियो ।
खुलेपछि पनि यो पार्क विवादमुक्त हुन सकेन । पशुपतिका तीर्थालुसँग चर्को शुल्क असुलेर व्यापार थालिएको भन्दै सम्पदाप्रेमीले विरोध थालेका छन् ।
पुरातत्वविद् प्रकाश दर्नाल नेपालका धार्मिक सम्पदा क्षेत्रमा भक्तजनको लागि हिटी (धारा) पाटी, पौवा र चौताराहरु निर्माण गर्ने पुरानो प्रचलन भएको बताउँछन् । तर, त्यसको प्रयोगबापत शुल्क लिने अभ्यास नभएको भन्दै उनले पशुपति क्षेत्रमा बनेको नयाँ उद्यानमा प्रवेश शुलक लिइनुको कारण बुझ्न नसकिएको बताए ।
‘धार्मिक क्षेत्रमा केका लागि यस्तो शुल्क लिइएको हो ?’ उनी भन्छन्,‘ विश्वसम्पदा क्षेत्रमा गुरुयोजनाअनुसार भएका सम्पदाको संरक्षण र सम्वर्धन गर्ने बाहेक नयाँ संरचना थप्ने काम गर्नु नै हुँदैन, खाली ठाउँ भेटेपछि पार्कका नाममा संरचनाहरु थपेर शुल्क उठाउने काम किन गरिन्छ भन्ने बुझ्न सकेको छैन ।’
धार्मिक क्षेत्रका मूर्त, अमूर्त सम्पदाका कुनै क्षति र विनाश नहुने गरी त्यसको वातावरणलाई जोगाउने गरी काम हुनुपर्ने भन्दै उनले पार्क बनाएर शुल्क लिने कुरा उचित नहुने बताए ।
पशुपति क्षेत्र विकास कोषका एक अधिकारी धार्मिक वनको व्यापारीकरण भएको बताउँछन् । राधा माधव समितिले विरोधका बीच नै राजनीतिक दलका नेता, मन्त्री र मन्त्रालयका सचिवसहित अतिविशिष्ट पदाधिकारीहरुको ‘पावर’ लगाएर पार्क बनाइछाडेको र त्यसबाट हुने कमाइ खाने उद्देश्य राखेको प्रष्ट भइसकेको उनले बताए ।
‘पशुपति क्षेत्रभित्र आफूले बनाएको पार्क आफैं चलाइराख्ने, पार्क बनाउँदा लागेको लगानी उठाएर नाफा कमाउने उद्देश्य छ’ उनले भने,‘यसमा कोष पनि सहयोगी भूमिकामा छ ।’
प्रतिक्रिया 4