
५ जेठ, काठमाडौं । सरकारले आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने नीति अन्तर्गत लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन र वैदेशिक सहायता परिचालनमा नेपाली कूटनीतिक नियोगहरूले खेलेको भूमिकाको आधारमा नियोग र नियोग प्रमुखहरूको मूल्याङ्कन गर्ने भएको छ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नियोगको कार्यबोझ र द्विपक्षीय सम्बन्धको आयाम र दायराको आधारमा नियोगहरूको पुनरावलोकन र सुदृढीकरण गर्ने बताए ।
सरकारले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्तको आधारमा स्वतन्त्र¸ सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्ने जनाएको छ ।
साथै, छिमेकी राष्ट्रलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घको तत्त्वावधानमा विश्व शान्ति स्थापना कार्यमा संलग्नता बढाउँदै नेपालको विशिष्ट योगदानअनुरूप नेतृत्व तहमा प्रतिनिधित्व बढाउन समेत पहल गरिने भएको छ ।
यस्तै क्षेत्रीय सहयोग अन्तर्गत भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूसँग सघन रूपमा संवाद र सहकार्य गर्ने भनिएको छ । तर हाल नेपाल अध्यक्ष रहेको दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई कसरी व्यवस्थित र सुचारु गर्ने भन्ने विषयमा भने स्पष्ट ढंगबाट उल्लेख गरिएको छैन ।
संयुक्त राष्ट्रसङ्घ लगायत अन्य बहुपक्षीय मञ्च र सङ्घसंस्थाहरूमा नेपालको उपस्थिति र भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजाने नीति सरकारले तय गरेको छ ।मुलुकको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्दै सीमासम्बन्धी सबै समस्यालाई कूटनीतिक पहलद्वारा समाधान गरिने पुरानै नीति तथा कार्यक्रमलाई दोहोर्याइएको छ ।
साथै, विदेशमा रहेका नेपालीहरूको हकहितको संरक्षण गर्न समस्यामा परेका नेपालीको उद्धार¸ राहत¸ कानूनी सहायता र स्वदेशफिर्ती लगायतका कन्सुलर सेवा प्रभावकारी तवरले उपलब्ध गराउने र राहदानी सेवालाई छिटो छरितो¸ प्रविधिमैत्री र भरपर्दो बनाइने सरकारको योजना छ ।
प्रतिक्रिया 4