
५ जेठ, काठमाडौं। राष्ट्रिय सभा सदस्यहरुले आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरेका छन् ।
शुक्रबार संसद भवन नयाँबानेश्वरस्थित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा भएको सामूहिक भेटमा राष्ट्रिय सभा सदस्यहरुले सांसद विकास कोषका विषयमा समेत चासो राखेका छन् ।
‘हामीले प्रधानमन्त्रीसित सांसद विकास कोष ब्युँताउन खोजिएको हो वा होइन भन्ने चासोका साथ भेटेका हौं’ नेपाली कांग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटाले बताइन् ।
प्रधानमन्त्री प्रचण्डसँगको कुराकानी उद्धृत गर्दै उनले सुनाइन्, ‘मुलुक आर्थिक संकटमा छ । संघीय सांसदको मुख्य काम कानुन निर्माण गर्ने हो । विकासका लागि प्रदेश र स्थानीय सरकार छ । त्यसकारण सांसद विकास कोष चाहिंदैन ।’
सांसदको नाममा रकम वितरण गरिए मुलुकभर नकारात्मक सन्देश जाने उल्लेख गर्दै आफूले प्रधानमन्त्रीलाई आम जनताको भावना बुझेर निर्णय लिन सुझाएको बताइन् ।
केही गरी यस्ता खाले कार्यक्रम ल्याउने हुँदा प्रत्यक्ष निर्वाचित, समानुपातिक, राष्ट्रिय सभा सदस्य भनेर छुटाउन नहुने उनको भनाइ छ ।
‘प्रधानमन्त्रीले संघीय सांसद एकै भएको र कुनै प्रकारका कार्यक्रम वा नीति कसैलाई पनि विभेद हुने गरी नआउने प्रतिबद्धता जनाउनुभयो’ देवकोटाले अनलाइनखबरसित भनिन् ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाको सचिवालयका अनुसार प्रधानमन्त्रीसँगको भेटमा नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले मुलुकको वर्तमान अर्थसंकटका बेला सासद विकास कोष ल्याउन नहुने बताए ।
यस विषयमा राष्ट्रियसभा सदस्यहरु एकमत रहेको उल्लेख गर्दै दाहालले सांसदहरुको दबाबका भरमा नभई वर्तमान यथार्थमा बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।
एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले पनि केही गरी सांसद विकास कोष जस्ता कार्यक्रम ल्याइए त्यसमा संघीय संसदमा रहेका सबै सांसदहरुप्रति एकै खाले व्यवहार गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाएका छन्।
प्रतिक्रिया 4