
७ जेठ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित हुने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले यो विधेयक संसदबाट सहमतिमै पारित हुने पनि बताए ।
‘सबैतिर सहमति बनाएर अब केही दिनभित्र त्यो विधेयक पारित गरेर आयोगमार्फत…। तपाईहरुले सुन्नु भयो- नीति, कार्यक्रममा हामीले अबको २ वर्ष भित्र सम्पूर्ण काम टुंग्याउने गरी काम अगाडि बढाउँछौं भनिएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसकारण यो कुरा तपाईंहरुलाई आज सुनाउन पाउँदा मलाई विशेष खुशी र गर्व पनि महसुस हुन्छ । हामी टुंग्याउँछौं । त्यसमा नेपाली कांग्रेस, एमालेसहितका दलको पनि सहमति र प्रतिबद्धता भइसकेपछि हामीलाई धेरै सजिलो भएको छ । यो टुंगिन्छ’ उनले भने ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन छ, उक्त विधेयकको विषयमा संसदीय समितिमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपूरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको अन्तरिम आदेशका कारण रोकिएको पनि बताए ।
प्रतिक्रिया 4