+
+

क्यान्सर जितेर देविकाले दिएको ‘सरप्राइज’

आत्मविश्वास भएपछि चाँडै निको हुने रहेछ : देविका

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १४:१०

काठमाडौं । डेढ वर्षअघि स्तन क्यान्सर लागेको थाहा पाउँदा देविका बन्दना निकै डराइन् । किमोथेरापी गर्दाका क्षण सम्झँदा उनलाई अझै कहाली लाग्छ । आफू क्यान्सर पीडित भएको कुरा परिवारबाहेक अरु कसैलाई पत्तो पनि दिइनन् । यसबीचमा उनले ११ गीत रेकर्ड गराइन् र सांगीतिक कर्मलाई सक्रिय रुपमा अघि बढाइन् ।

डेढ वर्षपछि देविकाले आफूले क्यान्सर जितेको खुलासा गर्दै सबैलाई ‘सरप्राइज’ दिएकी छन् । महजोडीले केही दिनअघि उनले लेखको पुस्तक ‘जित्नेको हाँसो’ पुस्तक विमोचन गरे । पुस्तकमा उनले अस्पतालमा उपचार गराउँदादेखि निको भएसम्मको यथार्थ लेखेकी छन् । साथै क्यान्सरलाई जितेपछि यसको खुलासा टिकटक र युट्युब भिडियोमार्फत गरेकी छन् ।

सुरुमा किमोथेरापी गर्दा उनी निकै डराइन् । ‘तिघ्रामा सुई लगाउँदा एकदमै दुख्थ्यो । चार-पाँच दिनसम्म मर्छु कि भन्ने लाग्ने,’ उनले भनिन् ।

‘क्यान्सर भन्ने बित्तिकै हामी डराउँछौं । मर्छु भन्ने त्रास भइरहन्छ । तर इच्छाशक्ति र परिवारको साथ भयो भने चाँडै निको हुने रहेछ । डराउनुपर्दैन,’ क्यान्सर जितेपछि अनलाइनखबरसँग देविकाले भनिन्, ‘यी सबै कुरा पुस्तकमा लेखेकी छु, यो पुस्तक पढ्नेले क्यान्सरलाई लिएर धारणा बदल्नुहुन्छ ।’

आफूले यतिबेला निकै ‘फ्रेस’ महसुस गरेको उनले सुनाइन् । क्यान्सर निको भएपछि मात्र आफूले पुस्तक निकालेको उनले बताइन् । देविकाले उपचारकै क्रममा गीत रेकर्ड गराइन् । कार्यक्रममा जाँदा पनि कसैलाई यसबारे थाहा दिइनन् । अस्ति पुस्तक विमोचन गर्दा दिएको सरप्राइजले महजोडी समेत अचम्मित भए । ‘अहिले त गाह्रो पनि छैन,’ उनले सुनाइन् ।

पुस्तक निकालेर अन्य क्यान्सर पीडितलाई सघाउने उनको योजना छ । यो किताब पढेपछि क्यान्सरलाई हेर्ने दृष्टिकोण बदल्ने उनको भनाइ छ । ‘सबै पुस्तक पसलमा पाइन्छ । यो बुक पढेपछि इच्छाशक्ति बढ्छ बिरामीको,’ उनले भनिन् ।

रोचक कुरा, उपचारको क्रममा रेकर्ड गराएका ११ गीतलाई समावेश गर्दै उनले लण्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्यालयमा कीर्तिमानको दाबीसहित डकुमेन्ट पठाएकी छन् । ‘बिरामी भइञ्जेलसम्मको कामबारेका भिडियो प्रमाण समाबेस गरेर लण्डन पठाएकी छु । त्यसको एक महिनामै तपाईंले वर्ल्ड रेकर्ड पाउँदै हुनुहुन्छ भनेर फोन गर्नुभयो । उहाँहरुको हातबाट वर्ल्ड रेकर्ड कायम गरें,’ उनले भनिन् ।

देविका क्यान्सर निको भएपछि बाँकी जीवन संगीतकर्म र क्यान्सर पीडितलाई सचेतना जगाउने अभियानमा लाग्न चाहन्छिन् । ‘अब एकल साँझ र पुस्तकको कामलाई अघि बढाउँछु । नेपाल र विश्व टुर गर्ने इच्छा छ । म बिरामी हुँदा त ११ गीत गाएँ, कसैले थाहा पाएन । अब त झन् निरन्तर रुपमा गायनलाई अघि बढाउँछु र क्यान्सर पीडितको लागि समाजसेवामा अघि बढ्छु । सहयोग गर्ने इच्छा छ,’ उनले भनिन् ।

क्यान्सर पीडितको रुपमा भएको यात्राबारेका भिडियोलाई टिकटक र युट्युबमा राख्दै जाने पनि देविकाको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?