
काठमाडौं । चर्चित भारतीय फिल्म ‘दृश्यम्’ अब दक्षिण कोरियाली भाषामा रिमेक हुने भएको छ । फ्रान्समा जारी कान्स फिल्म फेस्टिभल-२०२३ को क्रममा यस्तो घोषणा भएको हो । भारतीय निर्माता कम्पनी पानोरमा स्टुडियो र कोरियाली कम्पनी एन्थोलोजी स्टुडियोले फिल्म निर्माणमा सहमति गरेका हुन् ।
ओस्कार अवार्ड विजयी फिल्म ‘प्यारासाइट’का अभिनेता सोङ काङ होले रिमेक फिल्ममा शीर्ष भूमिका निर्वाह गर्ने जनाइएको छ । मौलिक फिल्मको मुख्य पात्र मोहनलाल र अजय देवगणको भूमिकामा अभिनेता होले चरित्र चित्रण गर्ने जनाइएको छ । कान्सको इण्डियन पेभेलियनले दुई मुलुकका निर्माताले रिमेकबारे सहमति गरेका हुन् ।
पानोरमा स्टुडियोका निर्माता कुमार मंगलले नयाँ सहकार्यलाई लिएर उत्साह व्यक्त गरे । ‘पहिलोपटक कुनै हिन्दी फिल्म कोरियाली भाषामा रिमेक हुने खबरले म निकै उत्साहित छु,’ उनी भन्छन्, ‘यसले भारतबाट हिन्दी फिल्मको बजार मात्र बिस्तार गर्दैन, हिन्दी सिनेमालाई विश्व मानचित्रमा स्थापित गर्नेछ ।’
पछिल्लो समय भारतमा समेत कोरियाली क्रेज बढेको भन्दै उनले भारतीय फिल्मका लागि यो निकै ठूलो कुरा भएको बताए । एन्थोलोजी स्टुडियोका प्रमुख जे चोइले भारतमा निकै चलेको फिल्मलाई कोरियाली मौलिकतामा ढालेर फिल्म बनाउने अवसर आफूहरुले पाएको उनले बताए । यो सहकार्यले विश्वका दुई ठूला फिल्म बजार कोरिया र भारतबीच संयुक्त लगानीको क्षेत्रमा महत्वपूर्ण हुने बताए ।
‘हाम्रो यो साझेदारितामार्फत हामी भारतीय र कोरियाली फिल्मलाई मौलिक फिल्मजस्तै अर्थपूर्ण र उत्कृष्ट रुपमा पुनर्निर्माण गर्ने कुरामा प्रतिबद्ध छौं,’ उनले भने । हलिउड स्टुडियो वार्नर ब्रोजमा यसअघि कार्यकारी प्रमुख रहिसकेका चोइ यो फिल्ममा कार्यकारी निर्माता हुनेछन् । हिन्दी संस्करणको दृश्यममा अजय देवगणले शीर्ष भूमिका निर्वाह गरेका थिए भने मौलिक संस्करणमा मोहनलालले अभिनय गरेका थिए । यी दुवैले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेका थिए ।
प्रतिक्रिया 4