
८ जेठ, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयले वितरण गर्ने ल्यापटप नलिने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयले ९३ जना प्रदेश सांसद र सात विषयगत समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको छ ।
तर नेकपा एमाले संसदीय दलले ल्यापटप नलिने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनले ल्यापटप खरिद प्रक्रिया रोक्नका लागि प्रदेशसभा सचिवालयलाई पनि पत्राचार गर्ने निर्णय भएको बताए । भण्डारीले ल्यापटप खरिद प्रक्रिया रोक्नका लागि संसद सचिवालयलाई पत्राचार गर्ने निर्णय पनि भएको बताए ।
‘अहिले पूर्वाधार विकास र जनसेवाको क्षेत्रमा बजेट अभाव भइरहेको बेला अहिले यो (ल्यापटप) चाहिंदैन भन्ने निर्णय गरेका छौं’, उनले भने, ‘हामी सबैसँग हातमा एन्ड्रोइड मोबाइल छन्, हाम्रा पीएसँग पनि छन्, न्यूनतम काम हामी त्यसबाट गर्न सक्छौं ।’
सांसदले ल्यापटप नमागेको उनले बताए । ‘हामीले मागेको पनि थिएनौं, हामीलाई थाहा पनि थिएन’, उनले भने, ‘हामीलाई चाहिदैन, अहिलेलाई हामी ल्यापटप प्रयोग गर्दैनौं ।’
यसअघि नेपाली कांग्रेसले प्रदेशसभालाई ल्यापटप खरिद प्रक्रिया रोक्न आग्रह गरेको थियो । प्रदेशसभा सचिवालयले ल्यापटप खरिद गरे ल्यापटप नलिने कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको थियो । माओवादी केन्द्रले पनि प्रदेशसभा सचिवालयले बाँड्ने ल्यापटप नलिने बताएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले एकसाता अघि एक सय वटा ल्यापटप खरिदका लागि बोलपत्र आह्वान गरेको थियो ।
प्रतिक्रिया 4