
काठमाडौं । गत साता अभिनेता अनमोल केसीलाई नयाँ फिल्ममा साइन गराउँदै निर्माता रोहित अधिकारीले भदौदेखि छायांकन थाल्ने बताएका थिए । त्यही बेला अनलाइनखबरसँग कुरा गर्दै भुवन केसीले भदौ १० गतेदेखि होम प्रोडक्सन फिल्मको सुटिङ सुरु हुने पनि बताएका थिए ।
एउटै कलाकारलाई लिएर दुई निर्माताको यस्तो परस्पर बाझिने अभिव्यक्ति आएपछि दर्शक र मिडियामा अन्योल छाएको छ । यो अन्योलबीच अभिनेता केसीले घरको फिल्मको छायांकन सुरुमा हुने बताएका छन् ।
उनले भने, ‘पहिले होम प्रोडक्सनको फिल्म बन्छ अनि चर्चामा आएका अन्य फिल्मको काम सुरु हुन्छ ।’ उनले आफूले गर्ने भनेको ‘जेरी अन टप’ फिल्म पनि यो वर्ष नबन्ने बताए । अर्को साल छायांकन सुरु हुने गरी जेरी अनटपको तालिका धकेलिएको उनले जनाएका छन् ।
अनमोलको होम प्रोडक्सन सुपर काजल फिल्म्सले भदौ दोस्रो सातादेखि लभस्टोरी फिल्मको निर्माण थाल्दैछ, जसलाई भुवन केसी स्वयंले निर्देशन गर्ने बलियो सम्भावना छ । यस्तोमा अनमोललाई लिएर फिल्म ‘फर्की फर्की’ घोषणा गरेका निर्माता अधिकारीले दशैंपछि मात्र फिल्म फ्लोरमा जान सक्ने संकेत गरेका छन् ।
अनमोलको यस्तो प्रष्टीकरणपछि भदौमा सुपर काजलको नयाँ फिल्म निर्माण हुने सम्भावना बलियो देखिएको छ ।
प्रतिक्रिया 4