
काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखाइने फिल्मको सूची घोषणा भएको छ । असार ७ देखि १० गतेसम्म वासिङट्न डीसीमा हुने फेस्टिभलमा ११ मुलुकका ३७ फिल्म स्क्रिनिङ हुने जारी वक्तव्यमा उल्लेख छ ।
गत वर्षको ओस्कार अवार्डका लागि छनोट भएको ‘ऐना झ्यालको पुतली’ यसपटक ओपनिङ फिल्मको रुपमा छ । लाइनअपमा पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोएल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित छोटो फिल्म ‘लोरी’, दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ लगायत समावेश छन् ।
अमेरिकी निर्देशक न्यन्सी स्भेन्डसेनको निर्देशनमा बनेको ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै महोत्सव समापन हुनेछ । ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष दुई फिल्म प्रदर्शन हुने र निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ को विशेष प्रदर्शन हुने जनाइएको छ ।
फेस्टिभलमा फिल्म, संस्कृति र नयाँ प्रविधिबारे विज्ञबीच छलफल चलाइने भएको छ । वासिङ्टन डीसी महानगर क्षेत्रमा स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने र फिल्म प्रदर्शन चाहिं एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने जनाइएको छ ।
मेरिल्याण्ड राज्यमा स्थापित नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि बर्सेनि महोत्सव आयोजना गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4