
काठमाडौं । अभिनेता दीपकराज गिरीलाई ३० वटा मौलिक घरसहितको नमुना बस्ती निर्माण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सघाउने भएको छ । ‘मौलिक शैलीका ३० घर निर्माण गर्दै दीपकराज गिरी’ शीर्षकमा अनलाइनखबरमा प्रकाशित समाचार सेयर गर्दै मन्त्री सुदन किरातीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री किराती लेख्छन्, ‘धन्यवाद दीपकराज गिरीजीलाई । यो काम मेरो पनि हो र गर्न खोजेको पनि मैले यस्तै हो । तपाईंसँग हाम्रो मन्त्रालय सँगै छ । उज्यालो मन भएका स्वार्थहीन मित्रहरु बल्ल मैले भेट्न थालेको छु र खुसी छु ।’
दीपकले जन्मथलो गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ को दहचोकस्थित झिंगटी घर टोलमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माणको योजना बनाइरहेका छन् । उनी यी घरलाई ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउन चाहन्छन् । यस्तो नमुना गाउँमार्फत उनी सम्पदा संरक्षण, पर्यटन र फिल्म छायांकनको काम गर्न चाहन्छन् ।
यो बस्ती निर्माणका लागि बिहीबार भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसँग दीपकको भेट भएको थियो । भेटमा दीपकले सम्पदा शैलीको नमुना घर बनाउँदा कसरी कार्यविधि र शैलीमा काम गर्न सकिन्छ भनेर मेयर प्रजापतिसँग कुराकानी गरेका थिए ।
प्रतिक्रिया 4