
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीमा कलाकर्मीको महत्व धेरै रहेको बताएका छन् । नेपाली कांग्रेसभित्र अन्य भातृ संस्थाभन्दा नेपाल सांस्कृतिक महासंघको मूल्य र मान्यता उच्च रहेको धारणा उनले राखे ।
बिहीबार महासंघको १८ औं स्थापना दिवस एवं राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला उद्घाटन गर्दै गुरुङले पार्टीलाई ऊर्जाशील बनाउन सक्ने संस्था नै नेपाल सांस्कृतिक महासंघ भएको भनाइ राखे ।
कांग्रेस नेता शेखर कोइरालाले महासंघले युवामुखी कार्यक्रममा जोड दिनुपर्ने बताए । ‘नेपाल सांस्कृतिक महासंघले युवालाई आकर्षित गर्ने र उनीहरूको प्राथमिकतामा रहेको काम गर्नुपर्यो,’ कोइरालाले सुझाए । महासंघलाई नेपालमा गिरिजाप्रसाद कोइरालाबाहेक कसैले चिन्न नसकेको उनको भनाइ थियो ।
कांग्रेस नेता तथा पूर्वमन्त्री रामहरि खतिवडा, कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, सांसद विनोद बान्तवा, शोभाकर पराजुली लगायतले कलाकर्मी र सांस्कृतिक महासंघको महत्व प्रकाश पारेका थिए । कांग्रेसका युवा नेता प्रमोदहरि गुरागाईं र केन्द्रीय सदस्य नैनसिंह महरले कार्यक्रममा सहभागी कलाकर्मीलाई प्रशिक्षण दिएका थिए ।
कलाकार धनबहादुर याक्खाको नेतृत्वमा ४२ जना कलाकारले प्रत्यक्ष पेन्टिङ गरेर देखाएको कार्यक्रममा विभिन्न नृत्य लगायत सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको थियो । कार्यक्रममा २० कलाकर्मीलाई सम्मान समेत गरिएको थियो । जसमा लोकगायक कस्तुप पन्त, कृष्ण रेउले, कलाकार सुनिल पुरी, राजु श्रेष्ठ, बुद्धिबहादुर राना, गोपाल गुरुङ, गोविन्द कोइराला, टंक विश्वकर्मा, कृष्णकुमार गुरुङ, गणेश सुवेदी, गंगाबहादुर पाण्डे, राधेश्याम राजभण्डारी, सुशील सेवा, बेदमणि अधिकारी, वीरेन्द्र यादव, मदन थापा, जालुमाया गुरुङ, सन्ध्या सानु, सचिन गिरीलगायत रहेका थिए ।
प्रतिक्रिया 4