+

बच्चामा अन्धोपनको जोखिम बढाउने आरओपी समस्या के हो ?

२०८० जेठ  ११ गते १६:१६ २०८० जेठ ११ गते १६:१६
बच्चामा अन्धोपनको जोखिम बढाउने आरओपी समस्या के हो ?

सामान्य बच्चाको तुलनामा समयअगावै जन्मिएका बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्या धेरै देखिन्छन् । अन्य शारीरिक समस्यासँगै समय नपुगी जन्मिएका र कम तौल भएका बच्चामा आँखाको समस्या पनि देखिन्छ ।

समयअगावै जन्मिएका बच्चामा देखिने आँखाको समस्यामध्ये ‘रेटिनोप्याथी अफ प्रिमच्योरिटी (आरओपी)’ पनि एक प्रमुख समस्या हो । उमेर नपुगी जन्मिएका, कम तौल भएका र सुत्केरी हुने समयमा राम्रो ख्याल नपाएका बच्चामा यस्तो समस्या देखिन्छ । आरओपी रोग विश्वभरका बच्चामा हुने अन्धोपनको मुख्य कारण हो । यो रोगमा आँखाको पछिल्लो भागमा हुने पर्दामा असर पर्छ ।

के हो आरओपी ?

प्रिम्याच्युअर्ड अर्थात् ३४ हप्ताभन्दाअघि जन्मिने र दुई केजीभन्दा कम तौल भएका शिशुको आँखामा देखिने समस्या आरओपी हो । समयअगावै जन्मेका कारण उनीहरूको शरीरको तौल कम हुन्छ र आँखाको रेटिना पूर्ण रूपमा विकसित हुँदैन ।

यसको जोखिम बालबालिकामा करिब ३० देखि ४० प्रतिशत हुने अध्ययनले देखाएको छ  । १६ देखि १८ प्रतिशतमा भने यो समस्या गम्भीर रूपमा देखिएको छ ।

कारण

आरओपीको मुख्य कारण नै समय नपुगी बच्चाको जन्म हुनु हो । ३४ हप्ताभन्दाअघि जन्मिएका बच्चालाई समयअगावै जन्मिएको मानिन्छ । उनीमा धेरै आरओपीको समस्या देखिन्छ ।

आरओपीको अर्को कारण जन्मिने बेलामा सामान्यभन्दा निकै कम तौल हुनु हो । सामान्यतया बच्चा जन्मिंदा दुई केजीको तौल हुन्छ । तर दुई केजीभन्दा कम तौलको बच्चा जन्मियो भने उनीहरूमा यस्तो समस्या हुन सक्छ ।

यसबाहेक जन्मिनेबित्तिकै धेरै सिकिस्त भएर लामो समय आईसीयूमा राखेका र धेरै समय अक्सिजन दिएका नवजात शिशुमा आरओपीको जोखिम हुन्छ ।

लक्षण 

बाहिरबाट आँखाले हेरेर यसको लक्षण देख्न सकिंदैन । त्यसैले यो समस्या पत्ता लगाउन आँखाको जाँच नै गर्नुपर्छ । धेरै अभिभावकमा बच्चामा केही लक्षण नै देखिएको छैन किन जाँच गराउने भन्ने पनि हुन्छ । तर बच्चा समयअगावै जन्मिएको छ र कम तौलको जन्मेको छ भने जाँच गराइयो भने समयमा उपचार गर्न सकिन्छ ।

उपचार

तीनदेखि चार हप्ताभित्र यो समस्या पत्ता लगाउन सकियो भने यसको पूर्ण उपचार गर्न सकिन्छ । समस्या समयमै पत्ता लाग्यो भने लेजरको माध्यमबाट नै यसको उपचार हुन्छ । त्यसपछि सुई लगाएर पनि उपचार गर्नुपर्ने हुन्छ । तर अन्तिम स्टेजमा आरओपीको उपचार शल्यक्रिया नै गर्नुपर्छ । ढिलो पत्ता लाग्यो भने उपचार हुने सम्भावना न्यून हुन्छ ।  सुरुवातमै उपचार सुरु गर्न सकेमा समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ ।

बच्ने उपाय

बच्चालाई यस्तो समस्याबाट बचाउन आमाले गर्भावस्थामा समय-समयमा स्वास्थ्य जाँच गराउनुपर्छ । बच्चा समयअगावै जन्मिएको छ वा कम तौलको जन्मिएको छ भने २८ दिनभित्र बच्चाको आँखा जाँच गराउनुपर्छ ।

(नेपाल आँखा अस्पतालकी सहायक प्राध्यापक तथा भिट्रोरेटिना र युभाइटिस विशेषज्ञ डा. बजगाईंसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

अन्धोपन आरओपी बालबालिका
लेखक
डा. प्रिया बजगाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?