
१२ जेठ, रुपन्देही । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा सत्तापक्षीय विद्यार्थी संगठनहरुले ताला लगाएपछि स्थगित भएको थियो । चुनावको माग गर्दै अदालतमा रिट परेपछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासले बैशाख १० गते ३० दिन भित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेशअनुसार जेठ ११ गते मनोनयन दर्ता भएको थियो ।
अनेरास्ववियु इतरका विद्यार्थी संगठनहरु सहमतिमा स्ववियु बोर्ड गठन गर्ने पक्षमा उभिएपछि निर्विरोध नेतृत्व चयन भएको हो ।
स्ववियुको सचिवमा नेविसंघका निराजन खरेल र कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी चुनिएका छन् ।
यसैगरी खुला सदस्यमा अनेरास्ववियुका श्रृजन नेपाल, प्रकृति गौतम र प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी र पुनम कुँवर तथा अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्वाचित भएका निर्वाचन अधिकृत सहप्राध्यापक गोपालप्रसाद पाण्डेले जानकारी दिए ।
१९ सदस्यीय स्ववियु बोर्डमा विद्यार्थी संगठनले गरेको सहमतिअनुसार अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्षसहित ९, नेविसंघले उपाध्यक्ष, सचिवसहित ६, अखिल क्रान्तिकारीले सहसचिवसहित २ सदस्य र विप्लव निकट क्रान्तिकारीलाई २ सदस्य दिने गरी सहमति भएको अनेरास्ववियुका सरोज पोखरेलले बताए ।
रुपन्देहीकै दोस्रो ठूलो लुम्बिनी वाणिज्य क्याम्पसमा ४ हजार बढी विद्यार्थी छन् ।
प्रतिक्रिया 4